close

कांग्रेस बैतडीमा क्षेत्र ‘क’ मा संस्थापन र ‘ख’ मा पौडेल समूह विजयी

कांग्रेस बैतडीमा क्षेत्र ‘क’ मा संस्थापन र ‘ख’ मा पौडेल समूह विजयी

Trulli
ADVERTISEMENT

बैतडी– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । भट्ट पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने चन्द वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । 


बैतडीमा जिल्ला अधिवेशन सोमबार हुँदै छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनको मत परिणाम आइतबार आइसकेको छ । प्रदेशसभा क्षेत्र ‘क’ मा संस्थापन पक्ष जिल्ला सभापतिका उम्मेदवार शिवराज भट्टको प्यानल विजयी भएको छ भने क्षेत्र ‘ख’ मा पौडेल समूहका चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ ।


दुवै कार्यसमितिमा सबै पदाधिकारी एकै प्यानलबाट विजयी भएका हुन् । प्रदेश प्रतिनिधिमा क्षेत्र ‘ख’ मा सबै १७ जना चन्द प्यानलकै विजयी भएका छन् भने क्षेत्र ‘क’ मा ३ जना चन्द प्यानल र अरू भट्ट प्यानलबाट विजयी भए । बैतडी प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरे । 


यस्तै, उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर विष्ट ३२८ मत ल्याएर विजयी भए । उनीहरूका निकटतम प्रतिद्वन्द्वी नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए । सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउद ३४४ मत ल्याएर विजयी भए । उनीहरूका निकटतम प्रतिद्वन्द्वी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याए । 


सहसचिवमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भए । उनीहरूका निकटतम प्रतिद्वन्द्वी गणेशसिंह साउदले २५२ र रामचन्द्र महराले २४७ मत प्राप्त गरेको मतदान अधिकृत रनवीरसिंह धामीले बताए । बैतडी प्रदेशसभा क्षेत्र ‘क’ जिल्ला सभापतिका उम्मेदवार भट्टको प्यानलले पदाधिकारीमा विजय हासिल गरेको हो । क्षेत्र ‘क’ मा ६४५ मत खसेको थियो ।


बैतडी प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरे । उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भए । उनीहरूका निकटतम प्रतिद्वन्द्वी देवबहादुर चन्दले २७१ र राकेशसिंह विष्टले २१४ मत प्राप्त गरे । 

 

सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याए । सहसचिवमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह विष्टले ३७९ मत ल्याएर विजयी भए । उनीहरूका निकटतम प्रतिद्वन्द्वी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएको मतदान अधिकृत घनश्याम लेखकले जानकारी दिए । बैतडी प्रदेशसभा क्षेत्र ‘ख’ मा जिल्ला सभापतिका उम्मेदवार चन्दको प्यानलले पदाधिकारी र १७ जना प्रदेशसभा प्रतिनिधिमा विजय हासिल गरेको हो भने भट्टको प्यानल शून्य आएको छ ।