close

४ दिनपछि बल्ल आयो कांग्रेस महाधिवेशन प्रतिनिधिको मत परिणाम

४ दिनपछि बल्ल आयो कांग्रेस महाधिवेशन प्रतिनिधिको मत परिणाम

Trulli
ADVERTISEMENT

बैतडी–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । चुनाव भएको ४ दिनपछि २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । मंगलबार सम्पन्न मतदानको शुक्रबार बिहान अन्तिम परिणाम आएको हो ।


महाधिवेशन प्रतिनिधिमा सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ । २६ महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन् । शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । 


खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द ६२२, हरिमोहन भण्डारी ५८१, उत्तरबहादुर ऐर ५६३, कर्णसिंह साउद ५४९, दीपकबहादुर बम ५४४ र कृष्णसिंह नायकले ५२३ मत ल्याएर विजयी भएका छन् ।


चन्द समूहबाट दिनेशप्रसाद भट्ट ६१३, लोकराज अवस्थी ५५३, दिनेशबहादुर चन्द ५४७ र नरेन्द्रसिंह थापा ५२१ मतसहित विजयी भएका छन् । खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भए । पुनम पाल बम ५४८, जानकी भट्ट ५१४, तुलसी ठगुन्ना ५०१ र मीना चन्द ४९२ मत ल्याएर विजयी भएका छन् । 


खस आर्य पुरुषतर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन् । चन्द समूहबाट दीपेन्द्र बम ६०६, सुरेन्द्रसिंह ऐर ५०६ र नरेन्द्रप्रसाद भट्ट ५०० मत ल्याएर विजयी भए ।


भट्ट समूहबाट तेजबहादुर चन्द ५४३ र कपिल केसी ५२५ मत ल्याएर विजयी भएका छन् । खस आर्य महिलातर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही ६०१ र सरस्वती कोली ५६२ मत ल्याएर विजयी भए । चन्द समूहबाट कौशिला चन्द ६२५ र लक्ष्मी शाह चन्द ५४७ मत ल्याएर विजयी भएका छन् । 


अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए । आदिवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भए । यसअघि जिल्ला पदाधिकारीमा १ जना उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।


महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद र पूर्वसचेतकसमेत रहेका विनयध्वज चन्द, पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य नरबहादुर चन्द, पूर्वसभापति नरेन्द्र विष्टलगायतका नेताहरू पराजित भए । 


यसअघि नै आएको मत परिणामबाट जिल्ला सभापतिमा चतुरबहादुर चन्द विजयी भइसकेका छन् भने एक उपसभापतिबाहेक अन्य ६ पदमा उनकै प्यानल (रामचन्द्र पौडेल) विजयी भए । जिल्ला कार्यसमिति सदस्यको मतगणना जारी छ ।