close

बाजुरा स्थानीय तह निर्वाचन : शपथग्रहण सम्पन्न हुँदा बुढीगंगामा अझै अन्योल  

बाजुरा स्थानीय तह निर्वाचन : शपथग्रहण सम्पन्न हुँदा बुढीगंगामा अझै अन्योल  

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुराका स्थानीय पालिकामा केही नयाँ र केही पुराना अनुहार दोहोरिएका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा नयाँ अनुहार देखिएका छन् । 

 

जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएका छन् ।  

 

हिमाली, जगन्नाथ र गौमुल गाउँपालिकमा पुरानै दोहोरिए भने बडिमालिका, त्रिवेणी, बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा नयाँ जनप्रतिनिधि देखिएका हुन् । 

 

जिल्लाको हिमाली गाउँपालिकामा अध्यक्ष गोविन्दबहादुर मल्ल जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र गौमूल गाउँपालिकाको अध्यक्षमा हरिबहादुर रोकाया दोहोरिएका छन् । 

 

त्यसैगरी, बडिमालिका नगरपालिकामा अमरबहादुर खड्का, बुढीनन्दा नगरपालिकामा जनककुमार रोकाया, त्रिवेणी नगरपालिकामा कर्णबहादुर थापा र खप्तड छेडेदह गाउँपालिकामा दीलबहादुर रावत र स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया निर्वाचित भएका छन् । 

 

नवनिर्वाचित प्रतिनिधि अधिकांश नयाँ अनुहारले गाउँ नगरको विकासमा टेवा पुर्याउने स्थानीयको विश्वास छ । त्यस्तै, अबका स्थानीय सरकारले अघिल्लो स्थानीय तहको तुलनामा दोब्बर काम गर्ने उनीहरुले विश्वास लिएका छन् । 

 

कुन स्थानीय तहले पहिलो निर्णय के गरे ?

स्वामीकार्तिकले  स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिने पहिलो निर्णय गरेको छ  । 

 

पालिकाको पदभार ग्रहण पछि गाउँपालिकाका अध्यक्ष भरत रोकाया र उपाध्यक्ष मैना जोशीले पहिलो निर्णय गर्दै स्वास्थ्य क्षेत्रको पहुँचभन्दा टाढा रहेका गाउँका अशक्त वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पुर्‍याउने गरी स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले बताए । 

 

त्यस्तै, कृषिकको आत्मसम्मानका लागि कृषि क्षेत्रमा आबद्ध कृषकलाई हरेक वर्ष कृषक पेन्सन कार्यक्रम सञ्चालन गरिने र सोहीअनुसार कृषकलाई सम्मान गरिने बताइएको छ । 

 

उत्पादित वस्तुलाई खेर नजान दिनका लागि बजारीकरणको समेत व्यवस्थापन, विपन्न वर्ग तथा दलित छात्रछात्रालाई छात्रवृत्ति वितरणका लागि कोष खडा गरिने समेत निर्णय गरेको उनले बताए । 

 

विपन्न वर्गका नागरिकलाई उच्च शिक्षा अध्ययनमा सहजताका लागि छात्रवृत्ति कोष खडा गरी सहयोग गर्ने निर्णय पनि गरिएको छ । 

बुढीगंगामा अन्योलमा
 

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचन अन्योल बनेको छ । निर्वाचन आयोगले मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्नेबारे निणर्य नलिँदा   नगरपालिकाको निर्वाचन अन्योलमा बनेको हो । 

 

बाजुराका नौ स्थानवीय तहमध्ये आठ पालिकाको नतिजा घोषणा भएर जनप्रनिधिले पदभार ग्रहण गरिसकेका छन् । 

 

तर, बुढीगंगाको निर्वाचनमा कुनै पनि निर्णय भएको छैन । गत वैशाख ३० मा जिल्लाका अन्य स्थानिय तहसँगै बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन भए पनि केही विवादका कारण मतगणना भएको छैन । 

 

निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको छ भने एमालेले यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको छ । 

 

एक साता बितिसक्दा पनि निर्वाचन आयोगले निणर्य नदिँदा पुनः निर्वाचन गर्ने कि मत गणना गर्ने अन्योल बढ्दै गएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए । 

 

बुढीगंगाको विवाद अध्ययन गर्न गत आइतबार निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा बाजुरा आएको थियो । 

 

सुरुमा सदरमुकाम मार्तडी आएर सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझेका थिए । 

 

एमाले र कांग्रेसका नेताहरु भने माग पूरा नभए अदालत जाने तयारीमा रहेको बताइरहेका छन् ।