close

रुकुम पश्चिमका १७ मध्ये १३ कार्यालयमा भेटिदैनन् कर्मचारी 

रुकुम पश्चिमका १७ मध्ये १३ कार्यालयमा भेटिदैनन् कर्मचारी 

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको छड्के अनुगमनमा सरकारी कार्यालयका झन्डै १ सय कर्मचारी अनुपस्थित रहेको पाइएको छ । कार्यालयले गरेको अनुगमनमा संघ तथा प्रदेश मातहत कार्यालयका करिब १ सय कर्मचारी कार्यालयमै अनुपस्थित रहेको पाइएको हो ।


१७ वटा सरकारी अड्डाको अनुगमन गरिएकामा ६ वटाका कार्यालय प्रमुख नै हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । ‘अनुगमनका क्रममा १७ मध्ये १३ कार्यालयका कर्मचारी अनुपस्थित भेटिए’, प्रजिअ गैरेले भने ।

 

बिनाजानकारी र बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको तथा केही कर्मचारी लामो समयदेखि कार्यालयमै नआएको उनले बताए । तोकिएको समय र नियमित कार्यालयमा उपस्थित नहुने अड्डाप्रमुखसहितका कर्मचारीलाई सम्बन्धित कार्यालयमार्फत ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । 

 

‘कर्मचारीलाई समयको पालना नगराउने, बिदा स्वीकृत नगराई बिदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत स्पष्टीकरण सोधेका छौँ’, प्रजिअ गैरेले भने ।

 

चित्तबुझ्दो स्पष्टीकरण नदिए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले बुधबार जिल्ला समन्वय समिति, ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना, जिल्ला हुलाक, मालपोत कार्यालयको छड्के अनुगमन गरेको थियो । 

 

यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा विकास, नापी, कोष तथा लेखा नियन्त्रण, पशु अस्पताल तथा पशु सेवा, स्वास्थ्य सेवा कार्यालय पनि छड्के अनुगमनमा परेका छन् ।

 

यस्तै, जिल्ला प्रशासनले तरकारी बीउ उत्पादन केन्द्र चापा, डिभिजन वन कार्यालय, पहाडी साना किसानका लागि अनुकूलन आयोजना आशा परियोजना, तथ्यांक कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, सामाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र कृषि विकास कार्यालयमा अनुगमन गरेको थियो । 


कार्यालय समयमा हाजिर नहुने अड्डा प्रमुखदेखि सबै कर्मचारीको हाजिरी रजिस्टरसमेत जिल्ला प्रशासनले आफूसँगै लगेको छ ।