close

निमित्तको भरमा १ सय ४० स्थानीय सरकार

निमित्तको भरमा १ सय ४० स्थानीय सरकार

Trulli
ADVERTISEMENT

काठमाडौं- ७ सय ५३ मध्ये १ सय ४० वटा स्थानीय तह हालसम्म पनि निमित्तको भरमा चलिरहेका छन् । कर्मचारी अभावका कारण स्थानीय तहहरू निमित्तको भरमा रहेको संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयका अनुसार २ वटा महानगरपालिका, ९ वटा उपमहानगरपालिका, ४२ वटा नगरपालिका र ८७ वटा गाउँपालिका निमित्तको भरमा छन् । वीरगन्ज महानगर र भरतपुर महानगरको प्रशासनको नेतृत्व उपसचिवले सम्हाल्दै आएका छन् । उपमहानगरमा पनि सहसचिवकै दरबन्दी छ । तर, ११ उपमहानगरमध्ये धरान, जनकपुर र नेपालगन्जमा मात्र सहसचिव प्रमुख प्रशासकीय अधिकृत छन् ।

 

बाँकी उपमहानगर उपसचिवले नै निमित्त भएर चलाइरहेको मन्त्रालयले जनाएको छ । कर्मचारी अभावकै कारण एक तह तल्लो कर्मचारीबाट प्रशासन चलाउनु परेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । उनले भने, ‘कोरोनाका कारण पनि पदपूर्ति हुन नसकेको हो । मन्त्रालयले ६३ उपसचिव र ४ सय शाखा अधिकृत पदपूर्तिका लागि लोकसेवा आयोगलाई सिफारिस गरेको छ ।’

 

संघीय सरकारले गत भदौमा ‘स्थानीय तहमा प्रमुख प्रशासकीयका रूपमा जान चाहनेलाई नाम टिपाउन’ आह्वान गरेको थियो । तर, यस प्रक्रियाबाट पर्याप्त इच्छुकको संख्या नआएकाले पछि ६ सय १३ स्थानीय तहमा मात्रै प्रमुख प्रशासकीय अधिकृत खटाइएको उनको भनाइ छ । 

 

केन्द्रका कर्मचारी पठाउँछौँ : अधिकारी


मन्त्रालयका प्रवक्ता अधिकारीले केन्द्रमा रहेका कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने तयारी भइरहेको बताएका छन् । मन्त्रालयले ७ माघमा मात्रै ‘कर्मचारी मिलान-समायोजन मापदण्ड’ स्वीकृत गरेको छ, जसमा एक स्थानीय तहबाट अर्काे र एउटा प्रदेशबाट अर्काे प्रदेशमा सरुवाको प्रावधान राखिएको छ ।

 

कर्मचारी समायोजनको बाटो खुलेकाले स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृत पठाउन सहज हुने मन्त्रालयलले बताएको छ । सो मापदण्डले संघका कर्मचारीलाई पनि प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने बाटो खुलेको अधिकारी सुनाउँछन् । 

 

समायोजन मिलानका लागि मन्त्रालयले ४ सहसचिव रहेको सरुवा बोर्ड गठन गरेको छ । सोही बोर्डले अध्ययन गरेर सरुवाको सिफारिस गर्नेछ । मापदण्डअनुसार साविकको घरेलु तथा साना विकास समिति र दुर्गम क्षेत्र विकास समितिका कर्मचारीको जुनसुकै स्थानीय तहमा समायोजन हुन सक्नेछ । यसअघि सम्बन्धित जिल्लाको स्थानीय तहमा मात्र समायोजन हुन सक्ने प्रावधानका कारण कतिपय कर्मचारीले जिम्मेवारी पाएका थिएनन् ।

 

प्रशासकीय अधिकृत नहुँदा समस्या : अध्यक्ष श्रेष्ठ


गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा प्रशासकीय अधिकृत नहुँदा समस्या देखिएको बताए । कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कानुन निर्माणदेखि बजेट कार्यान्वयनमा समस्या देखिएकोे उनको भनाइ छ । त्यसका लागि गाउँपालिकामै उपसचिवको दरबन्दी हुनुपर्ने उनको तर्क छ ।