close

लाइसेन्स कहिले पाइन्छ हजुर ! 

ट्रायल कुर्नेको संख्या ६ लाख नाघ्यो

लाइसेन्स कहिले पाइन्छ हजुर ! 

ट्रायल कुर्नेको संख्या ६ लाख नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- आइतबार बिहान ६ बजे जोरपाटीकी रमादेवी पन्तलाई चक्रपथ जानुपर्ने भयो । उनी स्कुटर लिएर निस्किइन् । चावहिल पुगेपछि उनलाई चेकिङमा रहेको ट्राफिक प्रहरीले रोक्यो ।

 

उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन । ट्राफिक प्रहरीले उनको हातमा १ हजार रुपैयाँको चिट थमाइदियो । रिसाउँदै आफ्नो बाटो लागिन् । 

 

कोटेश्वर बालकुमारीकी सविता कार्कीलाई १ महिनामा २ पटक ट्राफिक प्रहरीले चिट काटिसक्यो । झट्ट सुन्दा सविताको गल्ती देदिखन्छ । उनीले लाइसेन्स बनाउन पहल भने नगरेकी होइनन् । 

 

गत माघमा लाइसेन्सका लागि आवेदन भरेकी उनलाई ‘बायोम्याट्रिक’ र परीक्षाका लागि साउन दोस्रो साता मिति तोकियो ।

 

रमादेवीले भनिन्, ‘मैले फारम भर्दा ६ महिनासम्म परीक्षा दिन नपाउने । लाइसेन्स नहुनुमा मेरो गल्ती कि यातायात व्यवस्था विभागको ?’ 


यिनीहरू प्रतिनिधि पात्र मात्र हुन् । हाल लाइसेन्स लिन चाहने अर्थात् फारम भर्नेको संख्या ६ लाख नाघेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

लकडाउन अवधिमा लाइसेन्सको परीक्षा रोकिएकाले एकै पटक धेरैले फारम भर्दा सेवाग्राहीले परीक्षा दिन ८-९ महिनासम्म पर्खनुपर्ने बाध्यता आइपरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले दाबी गरे ।

 

उनले भने, ‘पहिले कोटा सिस्टमले गर्दा फारम भर्न पाइएन भन्ने धेरैको गुनासो आयो । त्यहीँ भएर सबैलाई खुला ग¥यौँ । धेरैले एकै पटक फारम भरेकाले पछि भर्नेको परीक्षा दिने पालो धकेलिँदै गयो ।’

 

करिब १ वर्ष नै कुर्नपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा पर्खनुबाहेक अन्य विकल्प नभएको उनले बताए । उपत्यका बाहिर भने यो समस्या खासै नपरेको उनले जानकारी दिए ।

 

ट्रायल सेन्टर थपेर वा २ सिफ्टमा चलाएर छिटो गर्न सकिन्छ तर यो काम भएको छैन । भुसालले भने, ‘हाम्रो काम भनेको फारम भर्ने मात्र हो, अरू प्रदेश मन्त्रालयअन्तर्गत पर्दछ ।


किन रोकियो लाइसेन्सको छपाइ ?


विभागले नियमित लाइसेन्स छपाइको काम पनि रोकेको छ । विभागमा थोरै मात्र लाइसेन्स बाँकी रहेकाले छपाइको काम रोकिएको भुसालले जानकारी दिए ।

 

उनले भने, ‘हाल विभागमा ३०-४० हजार मात्रै कार्ड छन् । त्यसैले अत्यावश्यक, विदेश जान लागेकालगायतलाई मात्र लाइसेन्स छापेका छौँ ।’ नयाँ कार्ड आएपछि पुनः लाइसेन्स छपाइको काम सुरु गरिने उनले बताए । 

 

१४ लाख लाइसेन्सका लागि फ्रान्सको सिल्प कम्पनीले सम्झौता गरिसकेको छ । विभागले आह्वान गरेको बोलपत्रमा मलेसियाको आइरिस बरह्याड कर्पोरेसन, फ्रान्सको सिल्प र भारतको मद्रास सेक्युरिटी प्रिन्टले ठेक्का हालेका थिए ।

 

प्राविधिक र आर्थिक प्रस्तावअनुसार प्रतिकार्ड ०.८६ डलरमा फ्रान्सको सिल्प कम्पनीले ठेक्का हात पारेको हो । हालसम्म विभागले २० लाख लाइसेन्स छापिसकेको छ ।