close

२ वर्षदेखि अलपत्र थिर्पु प्रहरी चौकी 

२ वर्षदेखि अलपत्र थिर्पु प्रहरी चौकी 

Trulli
ADVERTISEMENT

कालीकोट- कर्णाली प्रदेश सरकारले बजेट नदिँदा पलाँता गाउँपालिका वडा नम्बर ९ थिर्पुमा निर्माणाधीन इलाका प्रहरी चौकीको भवन २ वर्षदेखि अलपत्र परेको छ ।

 

प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेशका १० वटै जिल्लामा १४ वटा प्रहरी चौकी निर्माणका लागि २ वर्षअघि टेन्डर आह्वान गरेको थियो । सुपरस्टार जेभी, गाल्वा र क्याराभान निर्माण सेवाले डोल्पा, हुम्ला, दैलेख, सुर्खेत र कालीकोटको थिर्पुमा निर्माण गरिने इलाका प्रहरी चौकी भवनको जिम्मा लिएको थियो ।

 

कालीकोटबाहेकका ४ वटा जिल्लामा प्रहरी चौकी भवनको काम सम्पन्न हुन लाग्दा कालीकोट थिर्पुको भवनको पिलर मात्र हालिएको छ । 

 

थिर्पुमा निर्माण गरिने प्रहरी चौकी भवनको काम रकम अभावले अलपत्र परेको सुपर स्टार जेभीका निर्देशक तारा शाहले बताइन् । उनका अनुसार २०७५ जेठमा प्रदेश सरकारले प्रहरी चौकीको टेन्डर खोलेको हो ।

 

असारमा निर्माण सम्झौता भयो । पेस्की लगेर भदौमा भवन निर्माण सुरु गरियो । जग हालियो । पहिलो बिल उठाए पनि प्रदेशले बजेट नदिएपछि भवन अलपत्र परेको हो ।

 

उनले भनिन्, ‘पटक–पटक बजेटकै लागि मुख्यमन्त्री र गृहमन्त्रीसँग छलफल पनि भयो । प्रदेशमा छलफल गर्दा पैसा दिने आश्वासन मुख्यमन्त्रीले दिए तर बजेट दिएनन् ।’

 

प्रदेशले बजेट नदिएपछि दैलेख र सुर्खेतमा निर्माण गरिने प्रहरी चौकीको रकम उठाउन उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरिएको शाहले बताइन् ।
 
निर्माण व्यवसायीको ढिलासुस्ती र लापरवाहीका कारण जिल्लाका अन्य क्षेत्रमा निर्माण भइरहेका सरकारी भवन कतै अलपत्र अवस्थामा छन् भने कतै प्रयोगविहीन छन् ।