close

हरायो गाउँको सरकार, जनप्रतिनिधि खोज्दै प्रदेश मुकाममा जनता

हरायो गाउँको सरकार, जनप्रतिनिधि खोज्दै प्रदेश मुकाममा जनता

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको मोहन्याल गाउँपालिकाका गणेश ओली वडाध्यक्षको सिफारिस लिन २ दिन लगाएर धनगढी पुगे । यसको कारण हो, गाउँपालिकाका जनप्रतिनिधि भनेका बेला पालिका कार्यालयमा नबस्नु ।


‘गाउँपालिकाको वडा कार्यालयबाटै सिफारिस पाउनुपर्ने हो’, उनले भने, ‘सामान्य कामका लागि पनि हामी जनप्रतिनिधि र कर्मचारी खोज्दै भौँतारिनुपर्ने अवस्था छ । छोरा बिरामी भएर उपचार खर्चका लागि सिफारिस चाहिएको थियो । जनप्रतिनिधि र कर्मचारी सहरमै बस्छन् हामी यहीँ आउनुपर्छ,’ उनले भने ।


स्थानीय तहको निर्वाचन भएको ४ वर्ष पुग्नै लाग्दा पनि अझैसम्म जनप्रतिनिधि र कर्मचारी पालिकामा बस्दैनन् । उनीहरूले कैलालीका विभिन्न सहर बजारमा कार्यालय खोलेका छन् । सेवाग्राही त्यही
पुग्नुपर्छ । निर्वाचनपछि सुरुको १ वर्षका लागि जिल्ला सदरमुकाम धनगढीबाट कार्य सञ्चालन गरेको गाउँपालिकाले अझै पनि आफ्नै क्षेत्रको कार्यालयबाट काम सुरु गरेको छैन ।


‘गाउँपालिका अध्यक्ष कहिल्यै कार्यालयमा भेटिँदैनन्,’ स्थानीय सिरा मगरले भनिन्, ‘अध्यक्ष मात्र होइन, वडाध्यक्षहरूलाई खोज्न पनि सहरतिरै जानुपर्छ । कार्यालय फल्लेविसौना राखिए पनि काम भने सुखड, लम्की र धनगढीबाट हुने गरेको छ ।


स्थानीय गाउँको सरकार भनिए पनि आफूहरूका समस्या विगतभन्दा बढ्दै गइरहेको उनले सुनाइन् । ‘२ दशकअघि द्वन्द्वकालमा तत्कालीन गाउँ विकास समितिका काम असुरक्षाका कारण देखाउँदै जिल्ला सदरमुकामबाटै हुने गरेका थिए’, मोहन्यालका ६८ वर्षीय पदम चन्दले भने, ‘शान्ति प्रक्रिया, निर्वाचनपछि पनि अवस्था पुरानै छ । तत्कालीन गाविस सचिवहरू गाउँ फर्किए, अब गाउँमै सेवा पाइने आशमा थियौँ तर त्यसो हुन सकेन ।’


गाउँपालिका केन्द्रका विषयमा विवाद हुँदा अदालतमा मुद्दासमेत परेको थियो । अदालतले खिमडीमै राख्न आदेश दिएको थियो । गाउँपालिकाले भने पल्लेविसौनामा अस्थायी कार्यालय भन्दै बोर्ड झुन्ड्याएको छ । 


अस्थायी कार्यालयमा समेत सधैँ जसो जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेको स्थानीय सीतादेवी भण्डारीले बताइन् । ‘चाहिएको समय कार्यालयमा जनप्रतिनिधि भेटिँदैनन् । धेरैचोटि फर्किसकेकी छु’, उनले भनिन्, ‘सक्नेहरू उनीहरूले भनेकै स्थानमा सेवा लिन जान्छन्, हामी बुढाखाडाहरू सक्दैनौँ । सेवाबाट वञ्चित भएर बस्न बाध्य छौँ ।’


गाउँ–गाउँमा सिंहदरबारको नारा लगाए पनि जनताले सहज रूपमा अझै महसुस गर्न नसकेकोका मोहन्यालको वडा नम्बर ४ का सुरेश भट्टले बताए । उनले भने, ‘सानो कामका लागि पनि सहरमा पुग्नुपरेको छ । वडाबाट कुनै काम गर्नुपरे सम्बन्धित वडाध्यक्षलाई फोन गर्नुपर्दछ ।’


तत्काल फर्किन सक्ने अवस्था छैन : जनप्रतिनिधि

अत्यावश्यक सेवा–सुविधा नभएको भन्दै तत्काल गाउँ फर्किन सक्ने अवस्था नरहेको जनप्रतिनिधि र कर्मचारीहरू बताउँछन् । 


गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण मिश्रले कार्यालयबाटै कामकाज भइरहेको दाबी 
गरे । ‘हामीले सक्दो सेवा दिइरहेका छौँ । मोहन्यालमा राम्रो बिजुली, इन्टरनेट र बैंकिङ सेवा 
छैन । यसका लागि गाउँपालिका बाहिर जानैपर्छ । यहाँबाट उपलब्ध सेवा दिइरहेका छौँ,’ उनले भने ।


कैलालीको अति विकट मोहन्याल गाउँपालिकामा कर्मचारी जान मान्दैनन् । अहिले यातायात सुविधा पुगे पनि कर्मचारी र जनप्रतिनिधि कार्यालयमा भेटिँदैनन् ।