close

आफन्तले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित

आफन्तले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको डुंगेश्वर गाउँपालिकामा आफन्तले जागिर नपाउने भएपछि परीक्षा स्थगित गरिएको छ । गाउँपालिकामा संघ सरकारबाट प्राप्त कृषि प्राविधिक कोटामा आफन्तलाई जागिर खुवाउने सेटिङ नमिलेपछि परीक्षा स्थगित गरिएको हो । 

 

कृषि प्राविधिकका लागि २ जना कर्मचारी आह्वान गरिएकामा २२ जनाको दरखास्त परेको थियो । कर्मचारी आह्वान गरेर बिहीबार १२ बजे कृषि प्राविधिकका लागि परीक्षा गर्ने भनिए पनि जनप्रतिनिधिको दबाबका कारण परीक्षा स्थगित गरेको परीक्षार्थीको आरोप छ । 

 

नाम नखुलाउने सर्तमा एक परीक्षार्थीले भने, ‘निष्पक्ष परीक्षा लिँदा जनप्रतिनिधिका आफन्त अनुत्तीर्ण हुने पक्का भएपछि एक्कासि परीक्षा स्थगित गरियो । यसमा हाम्रो आपत्ति छ ।’

 

बिहीबार १२.४५ मा परीक्षा लिने भनिए पनि १२ः४५ मा सूचना टाँसेर स्थगित गरिएकाले आशंका बढाएको परीक्षार्थीहरू बताउँछन् । 


‘गाउँपालिकामा यसअघि जनप्रतिनिधिका  आफन्त राखिएको रहेछ । अहिले पनि त्यस्तै रवैया देखियो । परीक्षामा समावेश भएका १७ परीक्षार्थीले निष्पक्ष परीक्षाको माग गरेका छौँ’, उनीहरूले भने । 

 

शक्तिका भरमा कर्मचारी भर्ना गर्ने प्रचलन भएकै कारण पालिकामा हुने अधिकांश परीक्षा विवादित बन्ने गरेका छन् । सोही कारण परीक्षाका विषयमा अदालतमा मुद्दासमेत पर्ने गरेको कृषि प्राविधिकका लागि परीक्षा दिन आएका विद्यार्थीले बताए । 

 

यसअघि उक्त पदमा वडा नम्बर २ का निर्वाचित वडाध्यक्षका भाइलाई करारमा जागिर दिइएको थियो । अहिले परीक्षा निष्पक्ष हुँदा आफ्नो मान्छे फुत्कने डरले जनप्रतिनिधिले नै बखेडा झिकेको परीक्षार्थीको आरोप छ । 

 

परीक्षाका लागि विज्ञका रूपमा चुनिएका प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका प्रमुख राजु भुजले भने, ‘३ जना विज्ञमार्फत प्रश्न प्रकाशन गरेर सबै प्रश्नलाई एकै ठाउँमा राखी गोला प्रथाबाट निस्किएका प्रश्नलाई आधिकारिता दिएर परीक्षा सञ्चालन गर्ने हो । विज्ञहरूबाट प्रश्न आउन नसक्दा परीक्षा स्थगित गरिएको हो । हामीले बदमासी गर्ने उद्देश्यले परीक्षा स्थगित गरेका होइनौँ । परीक्षा झनै निष्पक्ष र पारदर्शी हुन्छ ।’ 

 

डुंगेश्वर गाउँपालिका कृषि शाखा प्रमुख गगन हमालले पनि परीक्षा निष्पक्ष हुने दाबी गरे । उनले भने, ‘परीक्षा निष्पक्ष हुन्छ । कसैको पावरमा जागिर पाइँदैन । प्राविधिक रूपमा प्रश्नपत्र निष्कासन गर्ने विज्ञमध्ये दुई जनाले प्रश्नपत्र निकाल्न नसकेपछि स्थगित भएको हो ।’ गाउँपालिकालाई दक्ष कर्मचारी चाहिएकाले १५ दिन भित्र परीक्षा लिने तयारी भइरहेको उनले दाबी गरे । 


गाउँपालिकामा दक्ष कर्मचारीका लागि आवश्यकता भए केन्द्रमा माग गर्नुपर्नेमा विगतदेखि नै निर्वाचित जनप्रतिनिधिका आफन्तलाई करारमा नियुक्ति गर्ने प्रचलन ३ वर्षदेखि चलिरहेको छ । 

 

बारम्बार निष्पक्ष रूपमा परीक्षा लिन माग गर्दा पनि सुनुवाइ नभएको जनप्रतिनिधि बताउँछन् । जनप्रतिनिधिले आफन्तलाई रोजगारी दिन करारमा धमाधम भागबन्डा गरेर कर्मचारी राखेपछि विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । 

 

अख्तियारले पुनः विधिवत् रूपमा परीक्षा लिन निर्देशन दिएपछि पालिकाका विभिन्न पदमा अहिले परीक्षा सञ्चालन भइरहेको छ ।