close

दोलखामा थपियो निषेधाज्ञा

स्थानीय सरकार धमाधम आइसोलेसन निर्माणमा जुट्दै

दोलखामा थपियो निषेधाज्ञा

स्थानीय सरकार धमाधम आइसोलेसन निर्माणमा जुट्दै

Trulli
ADVERTISEMENT

दोलखा- दोलखामा अहिलेसम्मकै सर्वाधिक ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरीकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा २०२ जनाको स्वाब परीक्षण गरिएकामा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

आइतबार मात्रै ५६ पुरुष र २९ महिला गरी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौड्यालले बताए । 

 

भीमेश्वर नगरपालिकाका १७ पुरुष र १४ महिला गरी ३१ जना, बिगु गाउँपालिकाका १५ पुरुष र २ महिला गरी १७, गौरीशंंकर गाउँपालिकाका २ पुरुष, बैतेश्वर गाउँपालिकाका ७ पुरुष र २ महिला गरी १० जना, तामाकोसी गाउँपालिकाका ९ पुरुष र १० महिला गरी १९ जना, मेलुङ गाउँपालिकाका १ पुरुष तथा कालिञ्चोक गाउँपालिकाका ४ पुरुष र १ महिला गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख पौड्यालले जानकारी दिए ।

 

हालसम्म जिल्लामा दोस्रो लहरको कोरोनाका ४१० जना सक्रिय संक्रमित रहेको कार्यालयले बताएको छ । दोलखामा थप १५ दिन निषेधाज्ञा जारी गरिएको छ । 


जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रमा भएको छलफलपछि स्थानीय प्रशासनले १५ जेठसम्म निषेधाज्ञा जारी गरेको हो । 

 

निषेधाज्ञाको समय विवाह, व्रतबन्ध, कुलपुजालगायत भीडभाड हुने सबै कार्यक्रम गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । 

 

जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि स्थानीय तहहरूले संक्रमितको सुरक्षा र सहयोगका लागि विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।


भीमेश्वर नगरपालिकाले नगरभित्रका कोरोना संक्रमित बिरामीलाई पोषण भत्ताबापत प्रतिबिरामी २ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

 

त्यसैगरी कोरोना संक्रमितलाई अन्यत्र उपचारका लागि लैजानुपर्ने अवस्थामा एम्बुलेन्स खर्चबापत ८ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसीले बताए ।

 

कोरोना संक्रमित बिरामीको मृत्यु भएको अवस्थामा सामाजिक कार्य गर्न मृतकको परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख केसीले जानकारी दिए ।

 

जिल्लाको तामाकोसी गाउँपालिकाले कोरोना संक्रमितलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना संक्रमित बिरामीलाई आवश्यक पर्ने सबै प्रकारका औषधी घरघरमै पु¥याइने पालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए ।

 

कोरोना संक्रमित बिरामीका लागि आवश्यक पर्ने भिटामिन सी, मल्टिभिटामिन, सिटामोल, खोकीलगायतका औषधी खरिद गरिसकिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताए ।


आपतकालीन अवस्थामा प्रयोग गर्न सदरमुकाम चरीकोट अस्पतालमा ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरीकोट अस्पतालसहित च्छो रोल्पा जनरल अस्पताल, सामुदायिक अस्पताल र गजेन्द्र फाउन्डेसनको एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख पौडेलले जानकारी दिए ।

 

त्यसैगरी सदरमुकाम चरीकोटमा रहेको लालीगुराँस युवा क्लबले भीमेश्वर नगरपालिका वडा नम्बर ३, चरीकोट गुठी, दोलखा उद्योग वाणिज्य संघ, चरीकोट खानेपानीलगायतको सहयोगमा चरीकोट अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी, तिनका कुरुवा र स्वास्थ्यकर्मीलाई १५ जेठसम्म खाना र नास्ताको व्यवस्था गरिरहेको लालीगुराँस युवा क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।