close

नासों गाउँपालिका कार्यालय लमजुङको बेँसीसहर सारियो

नासों गाउँपालिका कार्यालय लमजुङको बेँसीसहर सारियो

Trulli
ADVERTISEMENT

लमजुङ– अविरल वर्षासँगै आएको बाढीले मनाङको नासों गाउँपालिकाको कार्यालय बगाएपछि लमजुङको बेँसीसहरमा अस्थायी कायाालय स्थापना गरिएको
छ । धारापानी बजारमा रहेको कार्यालय बाढीले बगाएपछि लमजुङको बेँसीसहरबाट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गत ३१ जेठ रातीदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले पालिकाको कार्यालय बगाएपछि गाउँकार्यपालिका बैठकले बेँसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णण गरेको थियो । पालिकाले बेँसीसहरमा कार्यालय स्थापना गरेर सेवा दिन थालेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए ।

 

मस्र्याङ्दी नदीमा आएको बाढीले सडक अवरुद्ध हुनुका साथै सदरमुकाम चामे जाने पुलसमेत बगाएको र विद्युत् सेवा पनि अवरुद्ध भएपछि बेँसीसहरबाट सेवा सुरु गरिएको हो । गाउँपालिकाले कारोबार गर्ने बैंक बेँसीसहरमा रहेकाले पनि यहाँ आपतकालीन कार्यालय सञ्चालन गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।

 

वर्षाका कारण गाउँपालिकाभर पूरै जोखिम रहेकाले कार्यालय सञ्चालन गर्ने उपयुक्त र सुरक्षित स्थान नहुँदा छिमेकी लमजुङको बेँसीसहर झर्न बाध्य भएको उनले जानकारी दिए ।

 

‘आर्थिक वर्षको अन्तिम समय भएकाले चालू आर्थिक वर्षमा सञ्चालित योजनाको भुक्तानी गर्नुपर्ने, राहत व्यवस्थापन सहजीकरण गर्नुपर्ने भएकाले कार्यपालिकाको बैठकले बेँसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको उनको भनाइ छ । राहत वितरण गर्न मनाङ पुगेका हेलिकोप्टरसँग सहकार्य गरी गाउँपालिकाका कर्मचारीलाई बेँसीसहर ल्याइएको गाउँपालिकाले जनाएको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखा प्रमुखले बेँसीसहरबाट सेवा दिन थालेका छन् ।अहिले नासोंबाट कुनै पनि आर्थिक कारोबार गर्न सक्ने अवस्था छैन । धारापानीमा सडक र घर बगाएपछि त्यहाँका स्थानीय र प्रहरी विद्यालयमा बस्दै आएका छन् । मानिस सबै ओडार गाउँमा विस्थापित भएका छन् ।

 

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानीमा अब मानिसको बस्ती बस्न गाह्रो रहेको बताए । धारापानीमा गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयका १० घर मस्र्याङ्दीले बगाएको थियो ।

 

गाउँपालिकाको योजना अनुगमन, भुक्तानी, नयाँ योजना छनोटलगायत महत्त्वपूर्ण काम गर्दै आएको कम्प्युटरसहितका सबै कागजपत्र मस्र्याङ्दी नदीको बाढीले लगेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत रेग्मीसहित १५ कर्मचारीले ५ दिन ढुंगाको पहरामुनि रात बिताएका थिए । गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीचमै सम्पर्क विच्छेद भएको थियो ।

 

एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ । मान्छे हिँड्नेसमेत बाटो छैन । यसले गर्दा संकट आउन सक्ने स्थिति छ । नासों गाउँपालिका क्षेत्रका गाउँ पूर्ण रूपमा विस्थापित भएका छन् ।

 

‘गाउँपालिकाले प्रत्येक वडालाई १५ बोरा चामल र २ बोरा नुनको व्यवस्था गरेको छ । पूर्ण रूपमा विस्थापितलाई अलग्गै एक बोरा चामल, खाना बनाउने भाँडा सेट दिएका छौँ’, पालिका अध्यक्ष घलेले भने । तत्काल बेँसीसहरबाट यातायात खुलाउन सक्ने अवस्था नरहेको गाउँपालिकाले जनाएको छ ।