close

ऐतिहासिक थानीमाईडाँडामा बस्यो बन्दीपुरको कार्यपालिका बैठक

ऐतिहासिक थानीमाईडाँडामा बस्यो बन्दीपुरको कार्यपालिका बैठक

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक थानीमाई डाँडामा बसेको छ । बन्दीपुर वडा नम्बर २ मा पर्ने थानीमाई डाँडा ऐतिहासिक थलो हो ।

 

विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले निर्माण थालेको मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) को प्रवेशविन्दु पनि थानीमाई डाँडा हो । 
मिनी ग्रेटवालको प्रचार–प्रसार गर्न थानीमाई डाँडामा ८९औँ कार्यपालिका बैठक बसेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । 

 

‘ऐतिहासिक र पर्यटकीय थलोमा कार्यपालिका बैठक बसेर पर्यटन प्रवद्र्धन गर्ने निर्णय गरेका छौँ । यसपालि थानीमाईमा बस्यौँ । अबको बैठक अर्को वडाको कुनै महत्त्वपूर्ण ठाउँमा बस्छौँ’, पालिका अध्यक्ष थापाले भने ।

 

बैठकले जीर्णावस्थामा पुगेको थानीमाईको मन्दिर पुनर्निर्माणसँगै पूर्वाधार थप गर्ने निर्णय गरेको उनले बताए । कार्यपालिका बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष थापाले जनाए ।

 

गत १७ असारमा घरमाथिबाट खसेको पहिरोमा परी वडा नम्बर २ तामुङकी ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको थियो । 
बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएकालाई पनि गाउँपालिकाले राहतमा ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ । घरमा आंशिक क्षति भएकालाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । 

 

गाउँपालिकामा हालसम्म ३१ घर पूर्ण क्षति भएका छन् । ८१ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । विपद् व्यवस्थापनका लागि २ सय ५० थान जाली खरिद गर्ने निर्णयसमेत गरिएको छ । 

 

बन्दीपुर गाउँपालिका वडा नम्बर १ जामुनेमा निर्माण प्रस्ताव गरिएको फोहोरमैला संकलन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने र ढुंगागिटी, बालुवा उत्खनन गर्न नदीको घाट खुलाउने निर्णयसमेत शुक्रबार बसेको बैठकले गरेको छ ।

 

थानीमाई बन्दीपुर घुम्न आएका पर्यटकले सूर्योदय र सूर्यास्त अवलोकन गर्ने बिन्दु हो । थानीमाई डाँडादेखि १४ सय मिटरको दूरीमा मिनी ग्रेटवाल निर्माण भएको
छ ।

 

२ वर्ष पहिलोदेखि निर्माण थालिएको मिनी ग्रेटवालमा गाउँपालिकाले हालसम्म १ करोड रुपैयाँ लगानी गरेको छ । थानीमाईदेखि मणिमुकन्देश्वरी डाँडासम्म करिब ३ किलोमिटरमा मिनी ग्रेटवाल निर्माण हुने गाउँपालिका उपाध्यक्ष करुण गुरुङले जानकारी दिइन् । 

 

यो वर्ष निर्माण सक्ने लक्ष्य गाउँपालिकाको छ । ५ करोड रुपैयाँमा हालै मिनी ग्रेटवाल निर्माणका लागी टेन्डर आह्वान गरिएको छ । 

 

उपाध्यक्ष गुरुङका अनुसार चालू वर्षको बजेटमा मिनी ग्रेटवाललाई गाउँपालिकाले १ करोड ५० लाख र संघीय सरकारले ३ करोड ५० लाख रुपैयाँ विजियोजन गरेको छ । सुरुमा संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरे पनि पछि पुनः रकम घटाएको हो ।

 

पूर्वाधार थप्दै पर्यटकको बसाइ लम्ब्याउने नीति गाउँपालिकाले लिएको उपाध्यक्ष गुरुङले बताइन् । डुम्रेदेखि बन्दीपुरसम्म केबुलकार निर्माणाधीन छ । निजी कम्पनीले निर्माण गरिरहेको केबुलकारमा पालिकाबासी र गाउँपालिकाले पनि लगानी गरेका छन् ।

 

साहसिक पर्यटक भित्र्याउन सिसाको दृश्यावलोकन केन्द्र, स्काई ग्लास ब्रिज, जिप लाइन निर्माण गर्ने योजनामा गाउँपालिका रहेको उनले बताइन् । भक्तपुरे शैलीमा बनेका पुराना घर र शान्त बन्दीपुर बजार यहाँको प्रमुख आकर्षण रहेको छ ।

 

गाउँपालिकाले बन्दीपुर बजारसँगै पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धन र पूर्वाधार विकासमा जोड दिएको छ ।

 

२०७६ वैशाख दोस्रो साता बन्दीपुरको ४१औँ कार्यपालिका बैठक दक्षिण एसियाकै लामो दाबी गरिएको सिद्ध गुफामा बसेको थियो । पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलमा बसेको उक्त कार्यपालिका बैठक तनहुँका स्थानीय तहमा नौलो प्रयोग थियो । 

 

त्यसपछि जिल्लाको व्यास नगरपालिका कार्यपालिका बैठक भाइरल मानहुँकोट डाँडोमा उक्लिएर बस्यो । शुक्लागण्डकी नगरपालिकाले पनि थप्रेक, दगाम, कालिम-याङमा पुगेर बैठक गरेको थियो । 

 

सबै वडाको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका स्थलमा कार्यपालिका बैठक बस्ने निर्णय गरे पनि दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणले शुक्लागण्डकीलाई रोकेको छ । भीमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले पनि पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा पर्यटकीय स्थलमा कार्यपालिका बैठक बस्ने गरेका छन् ।