close

तनहुँ प्रशासनमा बारअनुसार सेवा

तनहुँ प्रशासनमा बारअनुसार सेवा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँ जिल्ला प्रशासनले बारअनुसार पालिकाबासीलाई सेवा दिने भएको छ । कोरोना संक्रमण बढिरहेका बेला कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप बढेकाले बारअनुसार ७ भदौदेखि सेवा दिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।


‘अहिले सेवाग्राहीको भीडभाड बेस्सरी बढेको छ । कोरोना संक्रमण पनि बढिरहेको छ । भीडभाड र संक्रमणको जोखिम कम हुने भएकाले बारअनुसारको सेवा दिन लागेका हौँ’, बरालले भने । प्रशासनमा बारअनुसारको सेवा प्रवाह हुदाँ बजारमा समेत चहलपहल कम हुने उनको भनाइ छ ।


आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाबासीले सेवा पाउनेछन् । सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको पालो निर्धारण गरिएको छ । मंगलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको पालो तय गरिएको छ । 


यस्तै, बुधबार भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका र बन्दीपुरको पालो तोकिएको छ भने बिहीबार आँबुखैरेनी, देवघाट, भिमाद र भानुबासीले सेवा पाउनेछन् । शुक्रबार व्यास र बन्दीपुरबासीलाई सेवा दिइने कार्यालयले जनाएको छ ।


तनहुँ प्रशासनले पछिल्लो पटक जारी गरेको आदेशअनुसार ७ भदौसम्म निषेधाज्ञा लागू छ । अत्यावश्यक सेवा तथा वस्तु किनबेच हुने व्यवसाय खोल्ने समय बिहान ५ देखी १० बजेसम्म तोकिएको छ । खोल्न अनुमति दिइएका अन्य व्यवसाय भने विहान ११ देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । तर, अनुगमन नहुँदा सबै व्यवसाय बिहानदेखि बेलुकासम्म निर्वाध खुलिरहेका छन् । निषेधाज्ञाका बेला सभा, सम्मेलन, जुलुस गर्न पनि प्रशासनले रोक लगाएको छ । तर, जिल्लामा राजनीतिक दलको कार्यक्रम दैनिकजसो हुने गर्छ । 


तनहुँमा सक्रिय संक्रमितको संख्या ४ सय ३८ रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार १३ जना मात्र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलसनमा उपचाररत छन् भने बाँकी सबै होम आइसोलेसनमा छन् ।


हालसम्म जिल्लामा २० हजार ५ सय ४८ नमुनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये ६ हजार २ सय ६२ लाई कोरोना पुष्टि भएको छ । ५ हजार ६ सय निको भएका छन् । १ सय २६ संक्रमितको निधन भएको छ । बुधबार मात्रै तनहुँका २ जनाको मृत्यु भएको थियो ।