close

कर्मचारीको हाजिरी प्रमाणित गरेपछि मात्र तलब भुक्तानी

कर्मचारीको हाजिरी प्रमाणित गरेपछि मात्र तलब भुक्तानी

Trulli
सांकेत्मक तस्बिर ।
ADVERTISEMENT

धादिङ– रुवी भ्याली गाउँपालिकाले पालिकाभित्रका कर्मचारीले मासिक हाजिरी बुझाएपछि मात्र तलब दिने भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ र उपाध्यक्ष फेलामा तामाङको उपस्थितिमा बसेको बैठकले कर्मचारीको हाजिरी हेरेर मात्र तलब भुक्तानी गर्ने निर्णय गरेको हो । यहि माघ २१ गते बसेको बैठकले सो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

अब कर्मचारीले हरेक महिनाको १ गतेभित्र अघिल्लो महिनाको हाजिर अनिवार्य रुपमा पेश गरि गाउँपालिकाबाट प्रमाणित गर्नुपर्ने निर्णय भएको हो । कर्मचारीको हाजिरी प्रमाणित भएपछि हरेक महिनाको ५ गतेभित्र गाउँपालिकाले तलब भुक्तानी गर्ने भएको छ । हाजिरी तोकिएको समयमा प्रमाणित नभएका कर्मचारीलाई अर्को महिनामा मात्र छुट तलब भुक्तानी हुने गाउँपालिकाले जनाएको हो । 

कर्मचारीको हरेक समय निगरानी गर्न नसक्ने भएकाले हाजिरी प्रमाणित गरेर मात्र तलब भुक्तान गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताए । ‘कार्यलयमा अनुपस्थित धेरै हुने भयो । जनताको सेवासँग कर्मचारी जोडिएकाले सेवालाई सक्रिय रुपमा अघि बढाउनका लागि यो निर्णय भएको हो,’ उनले भने ।  

कम हाजिरी हुने कर्मचारीको हाजिरी गयल गरिने उनले बताए । काममा लापरबाही नहोस् भन्ने उद्देश्यले हाजिरी पेश गरेपछि मात्र तलब भुक्तानी गर्ने निर्णय भएको उनले जानकारी दिए । 

गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट रहेकाले परिस्थिति हेरेर कर्मचारीप्रति लचिलो रहेको उनले बताए । ‘एउटा कार्यक्रममा जान चार घण्टा हिँडेर जानुपर्ने ठाउँ पनि छन् । उतै बास बस्नुपर्ने परिस्थिति पनि आउँछ । काम विशेष हेरेर लचिलो पनि भइन्छ,’ उनले पालिकाखबरसँग भने । 

प्रत्येक वर्ष गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई नगद सम्मान सहित पुरस्कृत गर्दै आएको उनले सुनाए ।