close

जुम्लाका ४७ हजार बढी नागरिकमा स्वास्थ्य बिमाको पहुँच

जुम्लाका ४७ हजार बढी नागरिकमा स्वास्थ्य बिमाको पहुँच

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएपछि यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । जुम्लाको २० हजार घरधुरीका करिब १ लाख २० हजार जनसंख्यामध्ये ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका हुन् । 


जुम्लास्थित स्वास्थ्य बिमा कार्यालय प्रमुख प्रेम भण्डारीका अनुसार ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रमअन्तर्गत १ हजार ९ सय ७८ जनाको बिमा गरिएको छ । महिला स्वयंसेविका १ सय ८० जना, पूर्ण अपांगता भएका २६ र एचआईभी संक्रमित १ जनाले निःशुल्क बिमा गरेका छन् । 


सामाजिक सुरक्षा भत्ता वितरणका लागि कर्णालीका ६० वर्षमाथि उमेर भएका व्यक्तिलाई जेष्ठ नागरिक मान्यता दिइए पनि बोर्डले भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै ज्येष्ठ नागरिकको मान्यता दिएको प्रमुख भण्डारीले बताए । निःशुल्क स्वास्थ्य बिमा गर्ने स्वास्थ्य बिमा ऐन, २०७४ मा व्यवस्था रहेको भण्डारीले जानकारी दिए । 


यसमा सामाजिक सुरक्षा र स्वास्थ्य बिमा बोर्डको ऐन बाझिएको देखिन्छ । कर्णालीमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्ने ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले बताए । ‘६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्ने हाम्रो माग छ’, उनले भने । 

 

स्वास्थ्य बिमा गराएकाले सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मात्रै सेवा पाउने गरेका छन् । ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने अस्पताल घरदेखि टाढा दूरीमा रहेकाले आउजाउमा समस्या देखिएको स्थानीयको गुनासो छ । 


अस्पतालले सेवा प्रवाह गर्ने क्रममा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने गरेको छ । स्वास्थ्य बिमा गराएकाले अस्पतालबाट निःशुल्क पाउनुपर्ने औषधीसमेत नपाएको गुनासो गर्छन् ।

 

बिमाकर्ताले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको औषधोपचार निःशुल्क पाउनुपर्ने प्रावधान छ । तर, अस्पतालको फार्मेसीमा पर्याप्त औषधी नहुँदा निजीमा औषधी किन्नुपर्ने बाध्यता छ ।