close

शाली नदी मेलामा कोरोना प्रभाव : ५० जना मात्र ब्रत बस्न पाइने, पीसीआर रिपोर्ट अनिवार्य

शाली नदी मेलामा कोरोना प्रभाव : ५० जना मात्र ब्रत बस्न पाइने, पीसीआर रिपोर्ट अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौको शाली नदी मेलामा ५० जनाभन्दा बढी ब्रत बस्न नपाउने र पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर मेला सञ्चालन गर्न लागिएको माधवनारायण स्वस्थानी ब्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । 

 

यसअघिका वर्षमा ४ सय हाराहारी ब्रत बस्ने गरेका थिए । पौष शुक्ल पूर्णिमाका दिनदेखि यही १५ माघमा हिन्दु धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजाआराधना आरम्भ गर्दै छन् ।


कोभिड– १९ महामारीका कारण १५ माघदेखि १ महिनासम्म चल्ने शाली नदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । 

 

मेलामा जम्मा ५० जना ब्रतालुलाई समावेश गरिनेछ, ब्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिइसक्नुपर्नेछ । ब्रतका लािग २० देखि ५० वर्ष उमेर समूहका मानिसलाई मात्र समावेश गर्न लागिएको समितिले जनाएको छ ।

 

श्रेष्ठका अनुसार समितिले उनीहरूको पीसीआर, एक्सरे रिपोर्ट अनिवार्य गरिएको छ ।  ब्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवान्को दर्शन गर्न व्यवस्था मिलाइएको छ भने ब्रतालु र भक्तजनबीच दूरी कायम गराउन ब्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

 

साथै, मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा, स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।


भक्तजन शाली नदीमा नुहाउन आउने हुँदा उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ-ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

मेला सञ्चालन भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौंँले आदेश दिएको छ ।