close

जुम्लामा यातायात भाडादर निर्धारण : प्रतिकिलोमिटर ८ रुपैयाँ

जुम्लामा यातायात भाडादर निर्धारण : प्रतिकिलोमिटर ८ रुपैयाँ

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाबाट सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनको भाडादर निर्धारित गरिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा अध्यक्षताको बैठकले भाडादर निर्धारित गरेको हो ।

 
प्रशासन प्रशासन कार्यालयमा बसेको समितिको बैठकले जुम्लाबाट लामो दूरीका सवारी साधन तथा अन्य सवारी साधनले नेपाल सरकारको प्रचलित ऐनबमोजिम ज्येष्ठ नागरिक, अपांग तथा महिला सिट आरक्षण र छुट व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  


पेट्रोलबाट चल्ने सवारी साधनले प्रतिकिलो मिटरको ८ रुपैयाँका दरले भाडा लिन पाइने निर्णय गरिएको छ । अस्थायी बाटो (कच्ची सडकमा बस, जीप, भ्यान) ले जुम्लाबजारदेखि उर्थचौतारासम्म ५ किलोमिटिरको दूरीमा ५० रुपैयाँ भाडा लिन पाउनेछन् । 

 

त्यस्तै, जुम्ला बजारदेखि गडीगाउँसम्म २२ किलोमिटरको दूरीमा २ सय २० रुपैयाँ लिन पाउनेछन् । जुम्लाबजारदेखि गुठीज्युलासम्म ३५ किलोमिटरको २ सय ४५ रुपैयाँ निर्धारण निर्णय गरिएको छ ।

 
नाग्मादेखि मुगु गमगढीसम्मको ९३ किलोमिटरको दूरीमा ६ सय ५० रुपैयाँ भाडा तोकिएको छ । जुम्लाबजारदेखि मणिसाँघुसम्म २५ किलोमिटरको भाडादर ३ सय ७५ रुपैयाँ तोकिएको छ ।

 

त्यस्तै, मणिसाँघुदेखि चोत्रासम्म ८ किलोमिटरको १ सय २० रुपैयाँ भाडा निर्धारण गरिएको छ । जुम्लाबजारदेखि मुगुको गमगढीसम्म १ सय २५ किलोमिटरको भाडा जीपको हकमा १ हजार २ सय रुपैयाँ निर्धारित गरिएको छ भने बसको हकमा १ हजार रुपैयाँ तोकिएको छ ।  


छोटो दूरीको पक्की सडकमा बस र जीपले जुम्लाबजारदेखि उमगाडसम्म २५ रुपैयाँ भाडा लिन सक्नेछन् । जुम्लादेखि लाम्रासम्म ४० रुपैयाँ, तोतोपानीसम्म ६० रुपैयाँ र कुडारीसम्म १ सय रुपैयाँ भाडा कायम गरिएको छ ।

यस्तै, रारालिहीसम्म १ सय २० र नाग्मा बजारसम्म १ सय ६० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।  


लामो दूरीको सवारी साधन बस, मिनीबस र जिपका लागि पनि भाडादर निर्धारित गरिएको छ । नाग्मबजारदेखि कालीकोटसम्मको ५० किलोमिटरको दूरीमा २ सय ५० रुपैयाँ भाडा तोकिएको छ ।

 

कालीकोटदेखि तल्लो डुंगेश्वरसम्मको ९२ किलोमिटरमा ५ सय ५० रुपैयाँ भाडा तोकिएको छ भने तल्लो डुंगेश्वरदेखि सुर्खेतसम्मको ६६ किलोमिटरमा ३ सय ३० रुपैयाँ भाडा निर्धारण गरिएको छ । 


जुम्लाबजारदेखि सुर्खेतसम्मको २ सय ३२ किलोमिटरको दूरीमा बसको हकमा १ हजार १ सय ६० रुपैयाँ तोकिएको छ भने नेपालगञ्जसम्मको १ हजार ५ सय ४ रुपैयाँ भाडा निर्धारण गरिएको छ । जीपको हकमा जुम्लादेखि सुर्खेतसम्म १ हजार ३ सय ९० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । 


अटोरिक्साको प्रतिकिलोमिटर १० रुपैयाँ

 

त्यस्तै, अटोरिक्साको पनि भाडादर निर्धारण गरिएको छ । जुम्लाबजारदेखि उमगाडसम्मको ५ किलोमिटरको दूरीमा ५० रुपैयाँ तोकिएको छ भने उगाडदेखि बाइरगाउँसम्म १३ किलोमिटरको १ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । 

 

बाइरगाउँदेखि नाग्मसम्म १४ किलोमिटर दूरीको १ सय ४० रुपैयाँ भाडा तोकिएको जिल्ला यातायात ब्यवस्थापना समिति जुम्लाले जनाएको छ ।  प्रजिअ थापाले भने, ‘सबै सवारी साधनमा टिकट र भाडादर टाँस्ने व्यवस्था गरिएकाले यात्रु आफैंले टिकट अनिवार्य माग्नुपर्छ ।’

 

यसअघि यातायात समिति तथा सवारी साधनका मालिकले मनपरी भाडा असुल्न थालेपछि भाडादर निर्धारण गरिएको उनको भनाइ छ । सवारी साधन अनिवार्य पञ्जीकृत हुनुपर्ने र सवारी यात्रुलाई टिकट व्यवस्था गरी यात्रुलाई चढाउने र निर्धारित सवारी साधनमा भाडादर सबैले देख्ने गरी टाँस्नुपर्नेछ ।