close

स्थानीय तहमा मनपरी राजश्वः एउटै घटना दर्तामा पालिका पिच्छे फरक फरक शुल्क

स्थानीय तहमा मनपरी राजश्वः एउटै घटना दर्तामा पालिका पिच्छे फरक फरक शुल्क

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरका स्थानीयले व्यक्तिगत घटना विवरण दर्ता गर्न फरक-फरक शुल्क तिर्दै आएका छन् । भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण गरी ४ वटा स्थानीय तह छन् । यी सबै स्थानीय तहमा फरक-फरक शुल्कमा व्यक्तिगत घटना विवरण दर्ता हुने गरेको हो ।

 

कुनै स्थानीय तहमा ५० रुपैयाँमा दर्ता हुने विवरण अर्को स्थानीय तहमा ६५ देखि १ सय रुपैयाँसम्म लाग्ने गर्दछ । ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिकामा व्यक्तिगत घटना दर्ता गर्न १ सय रुपैयाँ तिर्नुपर्छ भने भक्तपुर नगरपालिकामा ६५ रुपैयाँ एवं चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा क्रमशः ५०/५० रुपैयाँ लाग्छ । 

 

कुन नगरपालिकामा कति जरिमाना शुल्क


स्थानीय तह                        ३५ दिनभित्र    सक्कल    प्रतिलिपि
सूर्यविनायक नगरपालिका       निः शुल्क          रु.५०        रु. ५०
चाँगुनारायण नगरपालिका       निः शुल्क          रु. ५०       रु.५०
भक्तपुर नगरपालिका             निः शुल्क         रु. ६५       रु. १५
मध्यपुर थिमि नगरपालिका      निः शुल्क         रु. १००       रु. १५

 

तर घटना भएको ३५ दिनभित्र दर्ता गर्दा निःशुल्क रूपमा दर्ता हुने उनीहरूको दाबी छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नेपालको संविधान २०७२ ले प्रत्येक स्थानीय तहले आफ्नो आर्थिक क्षमता एवं जनताको आर्थिक स्थितिको आधारमा जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता र परिवारको लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापनका लागि शुल्क निर्धारण गर्न पाउने व्यवस्था उल्लेख छ । 


सोही व्यवस्थाअनुरूप सबै स्थानीय तहमा फरक-फरक रकम निर्धारण गर्न सकिने भक्तपुर नगरपालिका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए । उनले भने, ‘नगरपालिकाको आम्दानीको स्रोत, स्थानीयको आयस्तर, कार्यक्षेत्रको आधार र क्षमताको आधारमा शुल्क निर्धारण गरिएको छ ।’ 

 

जिल्ला समन्वय समिति भने यसबारे बेखबर छ । समितिका उपप्रमुखले भने, ‘व्यक्तिगत घटना दर्ता गर्न सबै स्थानीय तहमा एकरूपता हुने गर्छ । नक्सा पास, घर निर्माणलगायत दर्ता गर्न फरक–फरक शुल्क कायम हुन सक्छ ।’ 

 

मध्यपुर थिमि नगरपालिकाका अनुसार व्यक्तिगत घटना दर्ता शुल्कबारे २०३६ मा निर्धारण गरिएको थियो । तत्कालीन समय प्रत्येक घटना दर्ता गर्न ५ देखि ५० रुपैयाँ निर्धारण गरिएको थियो । 

 

सो व्यवस्था अहिलेका लागि प्रभावकारी नहुने भएकाले नगरपालिकाको कार्यपालिका बैठकले शुल्क निर्धारण गर्छ । नगरपालिकाका शाखा अधिकृत धनकृष्ण श्रेष्ठले घटना दर्ता गर्न प्रतिव्यक्ति शुल्क १ सय रुपैयाँ, हराएमा प्रतिलिपिका लागि ५० रुपैयाँ र अन्य सिफारिसका लागि निःशुल्क रहेको बताए । 

 

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कमलानाथ आचार्यका अनुसार सूर्यविनायकमा प्रतिव्यक्ति शुल्क ५० रुपैयाँ लाग्छ । चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता गर्न आए निःशुल्क सेवा दिने भए पनि समयावधि नाघेपछि जरिमाना शुल्क लिने बताउँछन् ।