close

महिला दिवसका रौनकः कतै पति बोकेर दौड, कतै साइकलमा सरर... 

महिला दिवसका रौनकः कतै पति बोकेर दौड, कतै साइकलमा सरर... 

Trulli
ADVERTISEMENT

नेपालभर सोमबार १११औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । यो दिन नारी हकहितका विषयका नारा र भाषण जताततै उर्लिए ।


३ वटै तहका सरकारले नारी दिवसम आ-आफ्नै ढुंगले कार्यक्रम गरे । तनहुँका स्थानीय तहले पनि विभिन्न कार्यक्रम गर्न भ्याए ।


तनहुँको देवघाट गाउँपालिकाले भने नारी पुरुष बराबरको सन्देश प्रवाह गर्न श्रीमतीले श्रीमान्लाई बोकेर दौडने प्रतियोगिता आयोजना गरेको छ । देवघाटको वडा नम्बर ५ कालिका माविमा भएको मैत्रीपूर्ण दौडमा १६ वटी श्रीमतीले श्रीमान् बोकेर दौडिए ।

 

विष्णु अधिकारी र पदम अधिकारीको दम्पती प्रथम, गंगा गुरुङ र नवीन गुरुङको दम्पती दोस्रो, सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको दम्पतीले तेस्रो स्थान हासिल गरे । प्रथम, दोस्रो र तेस्रोलाई सिल्ड र प्रशंसापत्रले सम्मान गरियो । सहभागी सबैलाई प्रशंसापत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।


नारी पुरुषसरह सक्षम हुन्छन् भन्ने सन्देश फैलाउन श्रीमतीले श्रीमान्लाई बोकेर दौडने मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । 


‘संविधानले नै नारी पुरुष समान भने पनि व्यवहारमा कार्यान्वयन भएको छैन । आधा आकाश ढाक्ने नारी पुरुष जत्तिकै सक्षम भएको प्रमाणित गर्न खोजेका हौँ’, उनले भने ।


दौडले दम्पतीको सम्बन्धलाई थप सुमधुर बनाउने गाउँपालिका अध्यक्ष थापाको बुझाइ छ । उनले भने, ‘शारीरिक र मानसिक रूपमा नारी पनि तन्दुरुस्त हुन्छन् । समाजको हेर्ने दृष्टिकोण मात्र कमजोर हो । हरेक क्षेत्रमा नारीको सम्मान जरुरी छ ।’


तनहुँका १० वटा स्थानीय तहमध्ये धेरैले नारी दिवसको कार्यक्रम गरे । व्यास नगरपालिकाले २१ किलोमिटर दूरीमा प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगिता गरेको छ । म्याग्दे गाउँपालिकाले एकल महिलालाई रातो टीका र पछ्यौरी ओड्याएको छ । 


मुगुमा नाटक देखाएर मनाइयो 

 

मुगुको छायानाथ रारा नगरपालिकाले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । सदरमुकाम गमगढी बजारमा विभिन्न सांस्कृतिक पक्ष झल्कने गरी स्थानीय देउडा खेल खेलेर, वक्तृत्वकला, नाटक, निबन्ध प्रतियोगिता गरेर दिवस मनाइएको हो । 

 

नगरपालिकाको आयोजना, जिल्ला समन्वय समितिको समन्वय र जिल्लामा क्रियाशील गैरसरकारी संस्थाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । 

 

महिला दिवसको अवसरमा देउडा खेल प्रतियोगिता गरिएको छ । प्रतियोगितामा नगरपालिकाको १ देखि वडा नम्बर १४ का महिलाले सहभागिता जनाएको छायानाथ जनाएको छ ।

 

प्रतियोगितामा सहभागीलाई समान रूपले पुरस्कार र प्रमाणपत्र वितरण गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए । 


सफल महिला उद्यमी सम्मानित 

 

नारी दिवसकै अवसरमा छायानाथ रारा नगरपालिकाले एक सफल महिला उद्यमीलाई सम्मान गरेको छ । रारा होजियारीका उद्यमी धनमाया सिंह बुढालाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो । 


बुढाको हाते बुनाइ सीपले स्थानीय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको छ । उद्यमी महिलासँगै स्नातकोत्तर उत्तीर्ण ६ जना महिला पनि सम्मानित भए । 

 

वक्तृत्वकलामा रारा प्रथम 

 

१११औँ महिला दिवस अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो । लैंगिक विभेद शीर्षकको वक्तृत्वकला प्रतियोगितामा नगरका ५ वटा विद्यालयले सहभागिता जनाएका थिए । 


प्रतियोगितामा रारा डायनामिक बोर्डिङ स्कुलकी छात्रा एलिसा चौलागाई प्रथम भइन् । थापा मेमोरियल बोर्डिङ स्कुलकी सुनिता कार्की द्वितीय, महाकाली नमुना माध्मिक विद्यालयकी छात्रा जमुना बिसी तृतीय र कर्णाली मावि टोप्लाकी सुष्मा शाहीले सान्त्वना स्थान प्राप्त गरिन् ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुस्कार प्रदान गरियो ।

 

निबन्धमा रोवा प्रथम 

 

दिवसकै अवसरमा ‘हाम्रो समाज र संस्कृति’ शीर्षकमा निबन्ध प्रतियोगिता गरिएको छ । प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयकी छात्रा सृष्टि कार्की प्रथम, कर्णाली मावि टोप्लाकी छात्रा आसिका शाही द्वितीय, थापा मेमोरियल बोर्डिङ स्कुलकी राममाया बिसी तृतीय र रारा डायनामिक बोर्डिङ स्कुलकी निशा बुढा सान्त्वना भइन् ।

 

प्रतियोगीलाई कापी, कलम, क्याल्कुलेटरसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

 

तिलोत्तमाले साइकल बाँडेर मनायो 

 

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाका लागि साइकल वितरण गरेको छ । १११औँ अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलालाई साइकल बाँडेको हो ।

 

श्रमिक महिलाको सम्मानका साथै तिनको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेरै साइकल प्रदान गरिएको नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । 


श्रमिकको आर्थिक, सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिसअनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साइकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


दिवस अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलालाई साइकल हस्तान्तरण गरिन् ।


नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार: समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितासमेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्वितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।


समुदाय स्तरका महिलाले सहभागिता जनाएको प्रतियोगितामा उनीहरूले आफूले भोगेका समस्यासमेत सुनाए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मीनाक्षी न्यौपानेले निर्णायकको भूमिका वहन गरेका थिए ।

 
कार्यक्रममा प्रदेश उपसभामुख थारुले सकारात्मक व्यवहारले मात्र लैंगिक विभेद हट्ने बताउँदै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन् । पहिलेको तुलनामा विभेद धेरै हटेको हुँदा राज्यले बनाएका नीति-नियमको सही कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास उनको छ । 


तिलोत्तमाले समानतामूलक समाज निर्माण र नगरका महिलामा उद्यमशीलताको विकासका लागि सञ्चालन गर्दै आएका काम प्रशंसनीय रहेको उनको बताइन् ।


कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले तिलोत्तमालाई लैंगिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी दिए । महिलाले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको उनको धारणा छ ।

 
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यवहार त्याग्न सके मात्र समतामूलक समाज निर्माण हुने बताइन् । समान कामको समान ज्यालासम्बन्धी निर्णय तिलोत्तमाले यसअघि नै गरिसकेकाले यसबारे नगरपालिकामा कुनै उजुरी नआएको उनले जानकारी दिइन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, इन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ-संस्था, आमा समूह, क्लब, टोल विकास संस्थाका प्रतिनिधि सहभागी थिए ।