close

कर्णालीको निम्तोः भोक होइन रोग लिएर आउनूस्, निको पार्छौं

कर्णालीको निम्तोः भोक होइन रोग लिएर आउनूस्, निको पार्छौं

Trulli
ADVERTISEMENT

जुम्ला- दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शवको पोस्टमार्टम गर्न साता दिन कुर्नुपर्ने अवस्था थियो । 

 

दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा डाक्टर पढाउने भएको छ । काठमाडौंको आँखाले कर्णाली दुर्गम भनिथ्यो र यहाँ चिकित्सकदेखि कर्मचारीसमेत आउने मान्दैन थिए ।

 

सरकारले कर्मचारीले कर्णालीमा सरुवा गरेपछि कारबाही गरेको सम्झने र आफूलाई हीनताबोध गर्ने गरेका थिए । 

 

तर, भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमर्जेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डाक्टरी पढ्न उनी जुम्ला पुगेका हुन् ।

 

उनले छात्रवृत्तिमा कर्णालीमा आएर पढ्न थालेका हुन् । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको डाक्टरी पढाइका लागि ५ वटा कोटा दिएपछि १ चैतदेखि पठनपाठन सुरु भइरहेको छ ।

 

महँगो शुल्क तिरेर सुविधासम्पन्न ठाउँमा गएर डाक्टरी पढ्नुपर्ने कर्णालीको बाध्यता थियो । त्यो बाध्यता हटेको छ । अब कर्णालीले डाक्टरी उत्पादन गरेर नेपालभर पठाउनेछ । गाउँठाउँमै डाक्टरी पढाइ हुन थालेपछि कर्णालीबासी उत्साहित छन् ।

 
चिकित्सा शिक्षा आयोगले जनरल प्राक्टिस इमर्जेन्सी मेडिसनमा ३ जना, एन्एसथेसियामा १, क्रिटिकल केयरमा १ जना र पिडाट्रिक्समा १ जना पढ्न पाउने गरी कोटा पठाएको थियो । तीमध्ये अहिले जनरल प्राक्टिसमा २ जना र एन्एसथेसिया पढ्न १ जना भर्ना भएका छन् । यी सबै विषयमा पठनपाठन हुने कर्णाली प्रतिष्ठानले जनाएको छ । 

 

कपिलवस्तुका डा. वेदकुमार चौधरी कर्णालीमा स्नातकोत्तर तहको डाक्टरी पढ्न पाउँदा निकै खुसी छन् । उनले भने, ‘कर्णालीमा पहिलो ब्याच पढाइ हुन थालेको हो । सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालीलाग्दो देखिन्छ । तर, कर्णालीले डक्टरी पढाउन थालिसक्यो । कर्णालीमा पढेर कर्णालीमै स्वास्थ्य सेवा दिने धोको छ ।’ 

 

कर्णालीमै पढ्ने र अवसर पाएसम्म कार्यक्षेत्र पनि कर्णालीमै बनाउने योजना रहेको डा. चौधरीले सुनाए । कर्णालीबासीको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन लागिपर्ने उनको प्रतिबद्धता छ । प्रतिष्ठानले बासको व्यवस्था गरेको छ ।

 

डा. ललितसिंह धामी दार्चुलादेखि कर्णालीमा पढ्न आएका छन् । उनीहरू कर्णालीमै डाक्टरी पढ्न पाउँदा खुसी भएको बताउँछन् । धामी भन्छन्, ‘कर्णाली स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका हिसाबले निकै अगाडि बढ्नेछ ।’ स्नातकोत्तर तहको डाक्टरी पढाइ ३ वर्षको हो ।  


तत्कालीन कर्णाली अस्पतालबाट सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्लिनिकल सेवा हुँदै अहिले स्वास्थ्य क्षेत्रमा  फड्को मारिसकेको छ । स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोेशेढुंगा भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन् ।

 

‘कर्णालीमा डाक्टर बस्न मान्दैनन् । डाक्टर नहुँदा कर्णालीबासी मृत्यु पर्खेर बसिराखेका छन् भन्ने सुनिन्थ्यो’, शिक्षाध्यक्ष थापाले भने, ‘अहिले कर्णाली डाक्टर उत्पादन गर्ने कारखाना बन्दै छ । कर्णालीबासीले रोजेरै उपचार सेवा पाउँदै छन् । स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन् । अहिले ५ वटा सिट पाएका छौँ । आगामी वर्ष १० देखि १५ विद्यार्थीसम्म भर्ना लिन सक्ने अवस्थामा पुग्नेछौँ ।’

 

उनले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान प्राथमिकतामा राखेर कार्यक्रम भइरहेको बताए । दूरदराजमा स्वास्थ्य सेवा दिने र सामाजिक रूपमा उत्तरदायी डाक्टर उत्पादन गर्ने लक्ष्य प्रतिष्ठानको छ । 

 

यहाँ उत्पादित डक्टरले जस्तोसुकै दुर्गम क्षेत्रमा पनि सहजै रूपमा काम गर्न सक्नेछन् । अब बिरामी डाक्टर खोज्दै आउने होइन, डाक्टर बिरामी खोज्दै जाने र व्यावसायिक मर्यादालाई पालना गर्ने जनशक्ति उत्पादन हुनेछ । 

 

कर्णाली प्रतिष्ठानले पाठ्यक्रम विद्यार्थी केन्द्रित बनाएको छ । बिरामी र डाक्टरको सम्बन्ध घनिष्ट हुनेछ । पढ्दै बिरामीको सेवा गर्नेछन् । 

 

कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठ कर्णालीमा डाक्टरीको पठनपाठन हुनु ऐतिहासिक कार्य भएको बताउँछन् । ‘डाक्टर पढ्न लाखौँ रुपैयाँ खर्चिएर अन्यत्र जिल्ला जानुपर्ने अवस्था थियो । पोस्टमार्टम गर्न सुर्खेत, नेपालगञ्ज जानुपथ्र्यो । अब त्यो अप्ठेरो हट्दै छ,’ श्रेष्ठले भने । 

 

कर्णालीमा उत्पादित जनशक्तिलाई दक्ष र सक्षम बनाउँदै सबै प्रतिष्ठानभन्दा नमुना बनाउनुपर्ने सुझाव उनको छ । ‘डाक्टर जागिर खान दुर्गम जाँदैनन् भन्ने मान्यता हटेको छ । अब दक्ष डाक्टर बन्न कर्णालीमा जानुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने ।

 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कर्णालीबाट गुणस्तरीय जनशक्ति रस्वास्थ्य सेवा उपलब्ध हुने बताए । प्रतिष्ठानका लागि यो परीक्षण काल भए पनि गुणस्तरी सेवा दिन सक्नुपर्ने उनको सुझाव छ ।

 

उनले भने, ‘अध्ययन र अनुसन्धानलाई सँगसँगै लैजानुपर्छ । अबको जनशक्ति सेवामुखी हुनेछ । बिरामी डाक्टरकहाँ होइन, डाक्टर बिरामी कहाँ पुग्नुपर्नेछ । पदाधिकारी अधिकांश समय जुम्लामै बस्नुपर्छ ।’

 

पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुँदा धेरैले विश्वास नगरेको स्मरण गर्दै हेर्दाहेर्दै डाक्टर उत्पादन हुन थालेकामा खुसी छन् । उनले भने, ‘कर्णाली अभाव, अशिक्षा, रोग र भोकको मात्र पर्याय बनिरह्यो । राज्यमा बस्नेको कर्णाली हेर्ने नजर कहिले फेरिएन । तर, पछिल्लो समय कर्णाली प्रतिष्ठानमा भइरहेको क्रियाकलापले निकै राम्रो सन्देश दिएको छ ।’

 

अब कर्णालीको युवा जनशक्ति डाक्टरी पढ्न बाहिर जानु नपर्ने र यही नै सस्तो र सुलभ रूपमा स्वास्थ्य शिक्षा हासिल गर्ने अवस्था आउनु खुसीको विषय भएको उनको भनाइ छ ।