close

जुम्लामा पनि निषेधाज्ञा

जुम्लामा पनि निषेधाज्ञा

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा कोरोना संक्रमण बढेपछि निषेधाज्ञाको आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले बुधबारदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक वस्तु किनबेचका लागि खुला हुने भए पनि अरू समय ठप्प हुनेछ । उनले भने, ‘यो समय निकै जोखिमयुक्त भएकाले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ ।’

 

यसअघि कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने, १५ जनादेखि बढी भीडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिडसम्बन्धी रणनीति बनाउने निर्णय गरेको थियो ।  सहायक प्रमुख जिल्ला अधिकारी चोलागाईंले कोरोना संक्रमण फैलन नदिन सबै सचेत हुनुपर्ने बताए ।

 

कर्णालीमा कोरोना संक्रमितको मृत्यु संख्या ५९ पुग्यो 


कोरोना भाइरसबाट कर्णाली प्रदेशमा सोमबार थप ५ जना संक्रमितसहित मृत्यु हुनेको संख्या ५९ पुगेको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नम्बर ७ का ६३ वर्षीय महिला रहेका छन् ।

 

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । 


मंगलबार दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय १ जना पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर ८ का ३०, लेकबेंसी नगरपालिका वडा नम्बर ८ का ६८ र पञ्चपुरी नगरपालिका वडा नम्बर ११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

पछिल्लो २४ घन्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा. खड्काले जानकारी दिए ।

 

त्यस्तै, यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ९ हजार १ सय २८ संक्रमितमध्ये पछिल्लो २४ घन्टामा ३१ जना डिस्चार्ज भएसँगै ७ हजार ६ सय २२ जना निको भएर घर फर्केका छन् ।

 

२ हजार १ सय ९४ संक्रमित प्रदेशका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।