close

कोरोनाका कारण पूजापाठ र दीप प्रज्ज्वलनमा सीमित भो बुद्ध जयन्ती

कोरोनाका कारण पूजापाठ र दीप प्रज्ज्वलनमा सीमित भो बुद्ध जयन्ती

Trulli
ADVERTISEMENT

रूपन्देही- शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६५औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस कोरोना महामारीका कारण पूजापाठ तथा दीप प्रज्ज्वलनमा सीमित गरी मनाइएको छ ।  गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरेर बुद्ध जन्मोत्सव मनाइएको हो ।

 

मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्रीको सन्देश वाचन गरिएको छ । पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी भए ।

 

यस्तै, बेलुका कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्ज्वलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए ।


उनका अनुसार कोरोनाले देशमा ठूलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरी सीमित उपस्थितिमा पूजापाठ गरेर बुद्ध जयन्ती मनाइएको हो ।

 

गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्ध जयन्ती पूजापाठमा मात्र सीमित भएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले स्मरण गरे । 


विगतका बुद्ध जयन्तीमा राष्ट्रप्रमुख, विदेशी कूटनीतिज्ञको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो ।


बुद्ध धर्ममा वैशाख पूर्णिमालाई महत्त्वका साथ लिने गरिन्छ । वैशाख पूर्णिमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र ८० वर्षको उमेरमा महापरिनीर्वाण भएको थियो ।

 

नेपालसहित भुटान, थाइल्यान्ड, बर्मा, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, चीनलगायत देशमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

 

गौतम बुद्धको जन्म २५६५ वर्षअघि हालको लुम्बिनी भएको थियो । कोरोनाका कारण गत वर्षदेखि नै यहाँ धार्मिक पर्यटक आउन सकेका छैनन् ।

 

अन्तर्राष्ट्रिय धर्मावलम्बी लुम्बिनी आउने सिजनमै कोरोना महामारी बढ्ने र लकडाउन हुने गरेकाले पर्यटक आवागमन शून्य भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

 

२५६५औँ बुद्ध जयन्ती अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेतालगायतले शुभकामना व्यक्त गरेका छन् ।


गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई आधार मानेर प्रदेशको नामकरण पनि लुम्बिनी प्रदेश घोषणा भइसकेको छ । बुद्ध जयन्ती अवसरमा प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पनि शुभकामना दिएका छन् ।