close

बेलकामा ३५ दिनभित्रै अक्सिजन प्लान्ट जडान

बेलकामा ३५ दिनभित्रै अक्सिजन प्लान्ट जडान

Trulli
ADVERTISEMENT

उदयपुर(बेलका)- उदयपुरको बेलका नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको अक्सिजन प्लान्टबाट ३५ दिनभित्रै उत्पादन सुरु हुने भएको छ । बेलकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टको पिडी इन्जिनियरिङ प्रालि र बेलका नगरपालिकाबीच ३५ दिनभित्र जडान गरी उत्पादन शुरु गर्ने सम्झौता भएको हो ।


‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयु’ नारासहित बेलकाले सञ्चालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि पिडी इन्जिनियरिङ प्रालिलाई जिम्मा दिने सम्झौता भएको छ । पिडी इन्जिनियरिङका तर्फबाट म्यानेजिङ डाइरेक्टर धर्मराज पौडेल र बेलकाका नगरप्रमुख दुर्गाकुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

अक्सिजन प्लान्ट जडानका लागि पहिलो किस्ताको ५८ लाख ५० हजार रुपैयाँ पिडी इन्जिनियरिङ प्रालिलाई बेलकाले भुक्तानी दिएको छ । दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर उत्पादन क्षमताको अक्सिजन प्लान्ट जडान भएर उत्पादन सुरु भएसँगै बेलका नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने जनप्रतिनिधि बताउँछन् ।

 

पछिल्लो समय अक्सिजनको अभाव भएसँगै कोरोना संक्रमितले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि बिरामी निधन हुनु नपरोस् भनेरै अक्सिजन प्लान्ट जडान गर्न लागिएको बेलका नगरप्रमुख थापाले जानकारी दिए ।

 

पिडी इन्जिनियरिङ प्रालिका म्यानेजिङ डाइरेक्टर ई. पौडेलले अक्सिजन अभाव हुन नदिन देशभरि नै सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि कामको यही गतिलाई निरन्तरता दिइने स्पष्ट पारे । पौडेलले सम्झौता मितिअगावै प्लान्ट निर्माण सकेर नगरपालिकालाई जिम्मा लगाइनेसमेत बताए ।

 

अक्सिजन प्लान्ट उदयपुरका ८ वटा स्थानीय तह, छिमेकी पालिका र विभिन्न व्यक्तिको आर्थिक सहयोगमा सञ्चालनमा आउन लागेको हो ।