close

सैनामैनामा नेपालकै ठूलो खानेपानी आयोजना बन्दै

सैनामैनामा नेपालकै ठूलो खानेपानी आयोजना बन्दै

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिकामा एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपालकै ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ ।


२५ प्रतिशत नगरपालिका, ५ प्रतिशत उपभोक्ता समिति र ७० प्रतिशत एडीबीको लगानीमा नगरका ५, ६, ७, ८ र ९ वडामा खानेपानी तथा सरसफाइ कार्यक्रम सुरु हुन लागेको हो ।


बस्ती विकाससँगै पानीको माग बढेकाले खानेपानी आयोजना निर्माण गरिन लागेको नगरपालिकाले जनाएको छ । सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की आवश्यकताअनुसार तदर्थ समिति गठन र डीपीआर तयार भएपछि आयोजनाको काम अगाडि बढ्ने बताउँछन् ।


उनले भने, ‘डीपीआरको काम १० दिनभित्र सुरु हुन्छ । आयोजना सुरु गर्न तथा कार्यान्वयनका लागि निर्माण कम्पनी, खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, नगरपालिका, उपभोक्ता समितिसँग सहकार्य गरी काम अघि बढाउँछौं ।’


आयोजना सम्पन्न गर्न करोडौं लागे पनि सम्झौताअनुसार एडीबीले ७० प्रतिशत अनुदान दिने उनले बताए । आयोजनाले नगरको खानेपानी समस्या, वैज्ञानिक ढल निकास, सरसफाइमा सहयोग पुग्नेछ भने नगरपालिकाको वडा–८ मा निर्माण हुने एकीकृत सहरी विकासमा कोसेढुंगा हुने उनको विश्वास छ ।


नेपालमा सञ्चालित खानेपानी आयोजनामध्ये यसलाई सबैभन्दा ठूलो योजना मानिएको छ । बहुवर्षे योजनाअन्तर्गत यो काम गरिने नगरप्रमुख कार्कीले जानकारी दिए ।


यसैबीच सैनामैनाले मंगलबार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका विषयमा नगरबासीसँग बृहत् छलफल चलाएको छ ।