close

गाउँपालिकाले सार्वजनिक गर्यो कोरोना रोकथामको खर्च

गाउँपालिकाले सार्वजनिक गर्यो कोरोना रोकथामको खर्च

Trulli
ADVERTISEMENT

पर्वत -  विभिन्न क्षेत्र र निकायहरूमा भ्रष्टाचारका समाचार आइरहेका बेला पर्वतका स्थानीय तहमा भने  पारदर्शिताको अभ्यास सुरु भएको छ । जलजला गाउँपालिकाले जिल्लामै पहिलोपटक कोभिड १९ रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा गरिएको खर्च विवरण सार्वजनिक गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सार्वजनिक सूचना जारी गरेर आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि प्रकोप व्यवस्थापन कोषमा गाउँपालिका, प्रदेश सरकार, अन्य निकाय तथा व्यक्तिबाट ५७ लाख २४ हजार २ सय २२ रुपैयाँ विनियोजन भएको थियो ।


गाउँपालिकाले बजेट विनियोजन गरेर सञ्चालन हुने पूर्वाधार आयोजनाबाट कन्टिन्जेन्सी (आयोजना व्यवस्थापन खर्च) बाट ७ लाख ७३ हजार १ सय ८७ रुपैयाँ गरीकुल ६४ लाख ९७ हजार ४ सय ९ रुपैयाँ कोषमा आम्दानी भएको थियो ।


विभिन्न ८ शीर्षकमा ६१ लाख २९ हजार ३ सय ३४ रुपैयाँखर्च भएको प्रशासकीय अधिकृत शर्माले बताए । सबैभन्दा बढी विपन्न वर्गलाई राहत वितरणका लागि खाद्यान्न खरिद गर्न २३ लाख ३० हजार २ सय ११ रुपैयाँ खर्च भएको छ ।


औषधी तथा स्वास्थ्य सामग्री खरिदमा १० लाख २४ हजार २ सय, गाडी भाडा तथा मर्मतमा ३ लाख ८० हजार ८ सय ५६, कुश्मामा अस्थायी कोरोना अस्पताल निर्माणमा ५ लाख ९१ हजार १ सय १३ रुपैयाँ खर्च भएको छ ।


स्वदेश तथा विदेशबाट आएकाहरूलाई कुश्माको क्वारेन्टाइनमा राख्दा ७ लाख ५१ हजार ९ सय ९३, कटुवाल र स्वयंसेवक परिचालनमा १ लाख ९९ हजार ४ सय ६१, सूचना प्रसारमा ८० हजार र गाउँपालिकामा क्वारेन्टाइन निर्माण, सञ्चालन तथा व्यवस्थापनमा ७ लाख ८१ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।


गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको पहलमा हिमाली बालकल्याण संस्थामञ्च ललितपुरमार्फत २९ लाख ५९ हजार २ सय रुपैयाँ मूल्य बराबरको खाद्यान्न पालिकाको वडा– २, ४, ५ र ७ मा वितरण भएको छ ।


२९ लाख ५९ हजार २ सय रुपैयाँमूल्यको ३२ हजार २ सय केजी मसिनो चामल, ४ लाख १६ हजार रुपैयाँको ३ हजार २ सय केजी दाल, ३ लाख ९६ हजार मूल्यको २ हजार ४ सय लिटर खानेतेल र ३५ हजार २ सय रुपैयाँको १हजार ६ सय केजी नुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष मल्लले हरेक योजना तथा कार्यक्रममार्फत गरिएको खर्चको विवरण जनतामाझमा सार्वजनिक गरिएको बताउँछन् । ‘कोरोनाका कारण स्थानीय तहमा गरिएको खर्चको विवरण हामीले जस्तै सबै पालिकाहरूले सार्वजनिक गर्नुपर्छ’, उनले भने ।