close

बारबर्दिया नगरपालिकामा पुनः लकडाउन

बारबर्दिया नगरपालिकामा पुनः लकडाउन

Trulli
ADVERTISEMENT

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकाले नगर क्षेत्रभित्र लकडाउन गरेको छ । पछिल्लो समय नगर क्षेत्रमा कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउन  घोषणा गरिएको नगरपालिकाले जानकारी दिएको हो । लकडाउन असोज ९ रातीदेखि असोज १४  रातीसम्म रहनेछ ।


बारबर्दिया नगरको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।


लकडाउन अवधिभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, यातायातलगायतका सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसल, दूध, तरकारी, पानी, फलफूल, ग्यासलगायतका पसल हरेक दिन बिहान ७ देखि ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ । 


लकडाउनलाई प्रभावकारी बनाउन नगरपालिकाले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने बारबर्दिया नगरका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए  । ‘नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकाले  पुनः लकडाउन गर्नु परेको हो’, उनले भने । 


नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारतलगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगाउनेलगायत निर्णय गरेको छ । 


जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालिकामा असोज १० बिहान ५ देखि असोज १४ मध्यरातीसम्म निषेधाज्ञा जारी गरेको छ । नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । 


बारबर्दियामा हालसम्म ६५ कोरोना संक्रमित फेला परेका छन् । उनीहरूमध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए   । 


गत मंगलबार बारबर्दिया नगरपालिका वडा–३ का वडाध्यक्ष सूर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो  ।