close

सप्तरी जलमग्न, ५ सय घरमा बाढी पस्यो

सप्तरी जलमग्न, ५ सय घरमा बाढी पस्यो

Trulli
ADVERTISEMENT

सौरभ यादव 
सप्तरी लगातारको भारी बर्षाका कारण सप्तरीको विभिन्न ठाउँ डुबानमा परेको छ । सर्वसाधारणको घरदेखि कतिपय सरकारी कार्यालय समेत डुबानमा परेको हो ।

सदरमुकाम राजविराजसहित विभिन्न ठाउँका खोलामा आएको बाढीले गाउँघर डुबानमा परेको छ । ढल निकास नहुँदा राजविराज नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ११ र १३ का झण्डै ५ सय घरमा बाढी पसेको छ ।

बर्षाको पानीले गजेन्द्र चोक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । घर सडकमा पानी जमेका कारण आवत जावत गर्न समेत समस्या भएको राजविराज ५ घर भएकी पूर्वमन्त्री मिथिला चौधरीले जानकारी दिइन् । 

सो वडाका करिव १ सय ५० घरमा बाढीको पानी पसेको वडाध्यक्ष समिर झाले जानकारी दिए । यस्तै खाडो खोला र जिता नदीको बाढी पस्दा तिलाठी कोईलाडी गाउँपालिका, बेल्ही टोल र हनुमाननगर कंकालिनी नगरपालिका ९ रम्पुरा मल्हिनयाका ५० घर डुबानमा परेका छन् । बस्तीमा २ देखि ३ फिट सम्म पानी जमेको गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हाट बजार लाग्ने स्थान र हाम्रो घर आँगनबाट कोशी बगिरहेको स्थानीयवासी सत्यनारायण मुखियाले बताए ।

यस्तै बलान नदीको बाढीले बलान बिहुल गाउँपालिका २ स्थित पश्चिमी तटबन्ध कटान गर्न थालेको र आफुहरु जोखिममा परेको स्थानीयले बताएका छन् । २ महिना अघि पनि आएको बाढीले सो क्षेत्रको ८ सय मिटर तटबन्ध कटान गरेको थियो ।

सो तटबन्धको मर्मत हुन नपाउँदै फेरी थप भाग कटान गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । बाढीको उच्च जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षा निकाय हाईअलर्ट अवस्थामा रहेको स्थानीय प्रशासनले जनाएको छ ।