close

वैतेश्वर जग्गा हिनामिना प्रकरणः गाउँपालिकाद्वारा खण्डन, राजनीतिक दलको दाबी यथावत्

वैतेश्वर जग्गा हिनामिना प्रकरणः गाउँपालिकाद्वारा खण्डन, राजनीतिक दलको दाबी यथावत्

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिकालाई स्थानीयले दान गरेको जग्गा अपचलन भएको विषयलाई पालिकाले खण्डन गरेको छ ।


गाउँपालिका केन्द्र त्यहीँ राख्नुपर्ने र त्यहाँ राख्न नहुनेबीचको विरोधले जग्गा हिनामिनाको प्रचार गरिएको दाबी पालिकाको छ ।


पालिकाको स्थायी केन्द्र वैतेश्वरमा भएपछि अर्को स्थानमा राख्नुपर्ने समूहले विरोध गरेपछि झगडा सतहमा आएको हो ।


जग्गादाता पूर्णबहादुर नेपाली जनताले दिएको २२ हजार ३२५ वर्गमिटर जग्गा गाउँपालिकाकै नाममा रहेको छ । बाहिरी घेराबाट सट्टा भर्नाका लागि रहेको १३ हजार ३१५ वर्गमिटर जग्गामा ८१४ मिटर जमिन मात्र जग्गा व्यवस्थापन समितिको नाममा छ ।


‘एक व्यक्तिले अर्को व्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिक अधिकार भएकाले  किनबेचका विषयमा पालिकाको भन्नु केही छैन  ।  गाउँपालिकाको जग्गा अपचलन भएका छैन’, गाउँपालिका अध्यक्ष छवि लामा भन्छन् ।


२६ जनाले दान गरेको २२ हजार ३२५ वर्गमिटर जग्गा सबै पालिकाको नाममा रहेको दाबी लामाको छ ।


गाउँपालिकाको निर्णयअनुसार जग्गा व्यवस्थापन समितिले  पारदर्शी रूपमा काम गरेको उनले बताए । जग्गा हिनामिनाको प्रसंग उठ्नासाथ छानबिन समिति बनाइएकाले त्यसले कुनै गडबडी नभएको प्रतिवेदन दिएको अध्यक्ष लामा जिकिर गर्छन् ।   


जग्गा व्यवस्थापन समितिले दाताहरूले दान गरेको जग्गा अपचलन नभएको जानकारी दिइसकेपछि विवाद निकाल्नु उपयुक्त नभएको वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य बताउँछन् ।  


‘स्थायी केन्द्रलाई जग्गा दान गर्ने जग्गादातालाई बाहिरी घेराका जग्गादाताबाट जग्गा शोधभर्ना गर्ने क्रममा अपचलन गरिएको प्रचार तथ्यहीन हो’, उनले भने ।


गाउँपालिकाको कार्यालय क्षेत्र नजिक वस्ती बसाल्न पाए हुन्थ्यो भन्ने सोच स्थानीयको रहेको जग्गा व्यवस्थापन समितिका संयोजक बालकुमार दाहाल बताउँछन् ।


जग्गा व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधिका आफन्तको नाममा जग्गा पास गर्नुको कारणसहित गाउँपालिकाले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेपछि दोलखाका केही राजनीतिक दलहरू असन्तुष्ट रहेको स्थानीय दिलराम गिरी सुनाउँछन् ।


जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले वैतेश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको सार्वजनिक गरेका थिए ।