close

सामाजिक सुरक्षा भत्ता लिएर वडा अध्यक्ष पुगे घरघरै

सामाजिक सुरक्षा भत्ता लिएर वडा अध्यक्ष पुगे घरघरै

Trulli
ADVERTISEMENT

बर्दिया- दशैँ मुखमै आएको छ । चाडवाडका बेला वृद्धवृद्धाहरूलाई मिठो मसिनो खान पुगोस् भनेर मधुवन नगरपालिका वडा नं.- ६ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धा वडा कार्यालय धाउनुपरेको छैन । बैँकमा पनि जानुपर्दैन । वडा अध्यक्ष नै भत्ता लिएर नागरिकको घरघरै जाने गरेका छन् ।


वडा कार्यालयले यसअघि बैँकमार्फत भत्ता दिँदै आएको थियो । वृद्धवृद्धाहरूलाई बैंकसम्म जान पनि गाह्रो हुने र वृद्धवृद्धालाई कोरोनाको जोखिममा पनि बढी हुने भएकाले आफैँ घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको मधुवन नगरपालिका वडा नं.- ६ का वडा अध्यक्ष भक्तबहादुर सुनारले जानकारी दिए ।
 

घरमै भत्ता पाएपछि यहाँका वृद्धवृद्धा खुसी भएका छन् । भत्ताका लागि बैंक धाउनुपर्ने झन्झट वडा कार्यालयले हटाइदिएको छ । वृद्धवृद्धाको सहजताका लागि घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउने अभियान चलाएको वडा अध्यक्ष सुनारले बताए । उनले भने, ‘वृद्धवृद्धालाई बैंकसम्म पुग्न पनि असहज हुने, बाहिर कोरोनाको जोखिम पनि उत्तिकै भएका कारण गर्दा पनि यसपालि घरमै गएर भत्ता बुझाएका हौँ ।’


चाडवाडका बेला भत्ता दिए वृद्धवृद्धालाई चाडवाड मनाउन सहज हुने भएकाले पर्वको मुखैमा भत्ता वितरण गरेको वडा कार्यालयले जनाएको छ । भत्ता बाँड्दै घरघर पुगेका वडा अध्यक्षले नागरिकलाई यस वर्ष घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्ने गरेका छन् ।