close

१३ वर्षपछि घर पाए राजीले, अवकाे चिन्ता गाँसकाे

१३ वर्षपछि घर पाए राजीले, अवकाे चिन्ता गाँसकाे

Trulli
ADVERTISEMENT

बर्दिया- एकै ठाउँ खरले छाएको स-साना गुजमुज्ज परेका झुपडी । झुपडीमा मुस्किलले एउटा खटियो अट्थ्यो । सीधा परेर उठ्दा छानो नै छोइन्थ्यो । एउटा झुपडीमा राजीका परिवार कोचिएर बस्थे ।


राजी बस्तीमा राजी समुदायका करिब ४० घर परिवार थियो । यस्तो झुपडीमा यहाँका राजीहरूले झन्डै १३ वर्ष गुजारा गरे । राजीको बस्ती बारबर्दिया नगरपालिका- ३ खुरखुरे फाँटमा पर्छ ।

 

सामुदायिक वन क्षेत्रमा घामपानी पनि नछेक्ने झुपडीमा वर्षौं बिताएका राजीहरूले बल्ल सुरक्षित घर पाएका छन् । अहिले उनीहरू झुपडीबाट चिटिक्क परेको ३ कोठे घरमा सरेका छन् । बरबर्दियाले उनीहरूलाई खुरखरे फाँटबाट पालिकाको वडा-१० दसघरुवामा बनेको नयाँ घरमा सारेको हो । 

 

यी घर राजीहरूले बनाएका भने होइनन् । उनीहरूलाई यी घर नगरपालिकाले नै बनाइदिएको हो । बारबर्दिया नगरपालिकाले तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत राजीहरूलाई ३ कोठे पक्की घर बनाइदिएको हो ।

 

पक्की देवाल भएको घरमा जस्तापाताको छानो छ । राजीहरूको घरघरमै खानेपानी, बिजुली र सौचालयको सुविधा पनि छ । मुलुकमा सत्ता, शासक फेरिए पनि आफूहरूको जीवनशैली कसैले नफेरिदिएको गुनासो राजीहरूले गर्दै आएका थिए । 

 

सुरक्षित घरमा बस्न पाउने राजीहरूको सपना नगरपालिकाले साकार गरिदिएको छ । राजी बस्तीकी अगुवा पार्वती राजी भन्छिन्, ‘वर्षौं झुपडीमा बितायौं । निकै दुःख–कष्ट खायौं । अहिले बल्ल सुखको सास फेर्न पाएका छाैं । घरमा बस्न पाउने सपना पूरा गरिदिएपछि खुसी लाग्यो ।’

 

सामुदायिक वनको झुपडीमा बस्दा राजीहरूलाई कुन बेला रुख ढलेर वा हाँगा खसेर च्यापिने हो भन्ने पिरलो हुन्थ्यो । ०६३ मा कैलाली, बर्दिया सुर्खेतलगायतका जिल्लाबाट राजीहरू यहाँ आएर बसेका हुन् ।

 

राजी बस्तीमा युवाहरू प्रायः भेटिँदैनन् । परिवारको छाक टार्न युवाहरू रोजगारीका लागि भारत हुइँकिन्छन् । उनीहरूले पठाएको पैसाबाट परिवारको छाक टर्छ । बास पाएका राजीलाई अझै गाँसको चिन्ता छ । स्थानीय सरकारले अलिकति भए पनि खनजोत गर्ने जमिन दिए गरिखाने बाटो बन्ने उनीहरूको सामूहिक माग छ ।

 

तराई मधेस समृद्ध कार्यक्रमअन्र्तगत पालिकाले राजीहरूलाई ३ कोठे घर बनाई हस्तान्तरण गरेको बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । उनले भने, ‘राजीहरूलाई बासको व्यवस्था गरेका छौं । अब गाँसको व्यवस्था मिलाउने सोच पनि बनाएका छौं ।’

 

करिब ५ बिघा जग्गा लिजमा लिएर भए पनि उनीहरूलाई खेतीपातीमा लगाउने योजना रहेको नगरप्रमुख थारुले जानकारी दिए ।