close

दहेजविरुद्धको अभियानमा दुहवीका मुस्लिम तन्नेरी 

दहेजविरुद्धको अभियानमा दुहवीका मुस्लिम तन्नेरी 

Trulli
ADVERTISEMENT

सुनसरी - मधेसी समुदायमा व्याप्त पिलो दाइजो (दहेज) को ऐंजेरुले मुस्लिम समुदायलाई नराम्ररी गाँजेको छ । परसंस्कृति ग्रहणको शृंखलाले मुस्लिम समुदाय प्रताडित छ । दाइजो कहरकै कारण मुस्लिम समुदायमा छोरीप्रतिको वितृष्णाले घरजम गरेको छ ।

कसरी जुट्दैछन् त ? 

दाइजो ऐंजेरु हटाउने अभियानमा केही मुस्लिम युवाहरू जुटेका छन् । सुनसरी मुस्लिम समाज नामक संस्था खोलेर मुस्लिम तन्नेरीहरूले दहेजविरुद्धमा अभियान छेडेका छन् ।


सुनसरीको दुहवी नगरपालिका- ९ का मजबुल मिया अध्यक्ष रहेको संस्थाले जिल्लाभरका मुस्लिम युवालाई अभियानमा जोडेको छ । दहेजका कारण छोरीहरू पढ्न नपाउने र हिंसाको सिकार भएको महसुस गरेपछि यो अभियानमा लागेको मिया बताउँछन् । 


मुस्लिम समुदायमा उल्टै छोरीलाई सम्पत्ति दिनुपर्ने संस्कार भए पनि पछिल्लो समय छोरीका बाबुआमाले ऋणधन गरेरै दहेज दिने चलन बढेको उनको अनुभव छ । 


‘बिहे गर्ने केटाले केटीलाई मागजति सम्पत्ति दिनैपर्छ । त्यसलाई हाम्रो भाषामा देहेन मेहर भनिन्छ । अनि, केटी राजी भएपछि मात्र बिहे गर्न मिल्छ । अहिले त्यो संस्कार हराउँदै गयो’, उनले भने, ‘बढ्दो दहेज कारोबारले धेरैलाई ऋणमा डुबाएको छ भने कतिपयले छोरीको बिहे नै गर्न नसकी रुँदै बस्नु परेको छ ।’ 

 

फलैंचामा राखेर कसम


गाउँघरमा दाइजो प्रथाका धेरै घटना देखेपछि छोरी पढाउने र बिहेमा सहयोग गर्ने अभियान ल्याएको उनले सुनाए । अभियानकै क्रममा संस्थाले दुहबी-९ मा विश्रामस्थल बनाएको छ । सोही फलैंचामा हरेक साता समाजको समस्याबारे मन्थन चल्छ । 


संस्थाका सदस्य नयमुद्दीन हुसेन दहेजको समस्या गाउँमा जटिल बन्दै गएपछि अभियानमा लाग्नु परेको बताउँछन् । ‘मुस्लिम समुदायमा पहिला साइकलमा हुने विवाह अहिले मोटरसाइकल र लाखाै‌ नगद परिणत भएको छ । हुनेखाने त सकिनसकी दिन्छन् । नहुनेले छोरीको बिहे गर्न सक्ने अवस्था छैन,’ हुसेन भन्छन् । 


सोही संस्थामा आबद्ध महम्मद सामुद्दीन आलम, असलम हुसेनलगायतका तन्नेरीले अभियानलाई सशक्त बनाउँदै लगेका छन् । गाउँभरका युवाहरूलाई भेला पारेर दहेजबिनै बिहे गर्ने प्रतिबद्धतासहितको कसम फलैंचामा ल्याएर खुवाउने गरेका छन् । 


‘घरजग्गादेखि सुनचाँदीसम्म माग हुने र सोहीअनुसार दहेज दिनुपर्ने बाध्यता छ । भोलि छोरीको बिहे नहुने र समाजमा बदनाम भइने डरले ऋण काडेरै भए पनि लुकीछिपी दहेजको लेनदेन हुने गरेको छ’, दाइजोविरोधी अभियानमा लागेका असलम हुसेन भन्छन् । 


विपन्न मुस्लिम समुदायका छोरीहरूलाई संस्थाले पढाइ खर्च जुटाउनेदेखि उपचार नपाउनेलाई औषधोपचार गर्ने र खाननाना नपुग्नेहरूलाई आर्थिक सहयोग दिँदै आएको छ । ‘किताब किन्न पैसा नहुनेले कसरी पढ्न सक्छन् ?’, मियाँले भने, ‘छोरी जन्मिएपछी दहेज र शिक्षा दुइटै दिनुपर्ने भएपछि अभिभावकहरूलाई तनावको भारी छ । धेरैले कर्जामा लिएर बिहे गरेका छन् ।’

 

मुस्लिम समुदायका गाउँमा मुख्य समस्या भनेकै शिक्षा र रोजगारी रहेको उनी सुनाउँछन् । पैसो नभएपछि अभिभावकले छोरीलाई विद्यालय पढाउन सक्दैनन् । कमाइको अर्को माध्यम छैन । विपन्नहरू दहेजका कारण झनै गरिब बन्दा समुदायले छोरीहरूलाई अपहेलित गरिरहेको मियाँ बताउँछन् । 


सोही गाउँकी सावित्री खातुन दहेजविरुद्धको अभियानमा निरन्तर सक्रिय छन् । ३ छोराकी आमा उनले सबै छोराको दहेजबिनै विवाह गरिन् । ‘दहेज पाउने परिवारलाई फलिफाप भए पनि दिनेलाई ऋणको भारले जीवनभर थिच्ने गरेको छ । गलत सामाजिक बुझाइको कारण दहेज फस्टाएको हो’, सावित्री भन्छिन् । 


दहेजसँगै छोराकै आसमा तलाक


दहेज उन्मूलनका लागि छोरीलाई उच्च शिक्षा दिएर आत्मनिर्भर बनाउन सके धेरै समस्या समाधान हुने उनको बुझाइ छ । आफू दुहवी नगरपालिकाको न्यायिक समितिमा पनि भएकाले दहेज नलिएर तलाक (सम्बन्ध विच्छेद) दिएपछि धेरै महिला पीडित हुने गरेको उनको अनुभव छ ।

 

‘मुस्लिम समुदायका महिलामाथि छोरा नजन्माएको भन्दै सम्बन्ध विच्छेद गर्नेहरू पनि धेरै छन्’, उनले थपिन्, ‘समाजमा दहेज नलिई बिहे गरेको भने पनि लुकीछिपी पैसा र मोटरसाइकल माग्ने छन् ।’ 

इटहरी- १० मुस्लिम टोलका तन्नेरी सबिर, जम्सेद र अरमान महम्मद दहेज नलिई बिहे गर्ने बताउँछन् । कक्षा ११ को पढाइ सुरु गरेर पनि बीचमा छाडेका अली २ वर्षअघि बिहे गर्दा दहेज नमागेको बताउँछन् । ‘मलाई दहेज लिने-दिने मन पर्दैन,’ उनी भन्छन्, ‘तर दहेज नलिई छोराको बिहे नै गर्दैनन् । फेरि उमेर पुगेपछि मुस्लिम परिवारमा छोरीको बिहे भएन भने झनै नराम्रो हुन्छ । यसले गर्दा पनि दहेज धेरैको बाध्यता बनेको छ ।’


३ तन्नेरीमध्येका अर्का सबिर पहिलाभन्दा अहिले झनै दहेज बढेको अनुभव सुनाउँछन् । ‘पहिला २० हजार दिए पुग्थ्यो भने अहिले २ लाख दिनैपर्छ’, उनी भन्छन्, ‘बाइक भएन भने झनै बिहे गर्न मान्दैनन् । बिहे गर्ने केटाभन्दा पनि उसका बाबुआमाले बढी दहजे माग्छन् ।’


दहेजविरुद्ध लागेका युवाहरूले गरिब परिवारका छोरीको बिहे गर्न नसकिने अवस्था आएपछि मुस्लिम टोलमा रहेको मस्जिदबाटै दहेज मागे कारबाही गर्ने निर्णय भएको बताए । मस्जिदबाटै वाचाकसम खुवाए पनि लुकीछिपी दहेजको मोलतोल हुने गरेको उनीहरू बताउँछन् ।

 

ऋण गरेर दहेज


सुनसरी दुहवी नगरपालिकाकी जुलखा खातुन दैनिक फोहोर संकलन गर्न बजार जान्छिन् । इटहरी र दुहवी बजारमा फालिएका पुराना कार्टुन जम्मा गरी बिक्री गर्छिन् । फोहोर उनको जीवन चलाउने सहारा बनिरहेको छ । 


दुहवी नगरपालिका कार्यालयबाट पूर्वतर्फको सुकुम्बासी बस्तीमा उनको सानो छाप्रो छ । छिमेकी सकिला, अम्ना, जरिना, सविना, मरियम उनका सहयात्री हुन् । उनीहरूको घरको सीमा मात्र नभई पेसा र धर्म पनि एउटै हो ।


जलखाका श्रीमान् पहिले रिक्सा चलाउँथे भने अहिले सिटी सफारी चालक भएका छन् । त्यही रिक्साबाट जेनतेन परिवार चलेकै थियो । खाननाना पुगेकै थियो । उनले सिटी सफारी किनेपछि आम्दानी पनि बढ्यो । 


जेठी छोरीको बिहेका लागि जलखाले २ लाख ७५ हजार रुपैयाँ ऋण लिएकी छन् । ३ वर्षे भाखाको ऋणको किस्ता हरेक महिना १० हजारका दरले बुझाउनुपर्ने जुलखा बताउँछिन् । दैनिक संकलन गरेको फोहोर कार्टुन बिक्रीबाटै उनले बैकको किस्ता तिर्छिन् ।


जुलखाजस्तै अम्ना र जरिना खातुनको पनि समस्या एउटै छ । उनीहरूले पनि छोरीको बिहेको ऋण तिर्न पसिना बगाइरहेका छन् । आउँदो मंसिरमा उनको ऋणको किस्ता सकिँदै छ । त्यसपछि फेरि ऋण लिने तयारीमा छन् । कारण उही हो, माइली छोरीको बिहे । ठूली छोरीको बिहे ३ लाखमा भयो । माइलीको ५ लाख रुपैयाँ ऋण लिने योजना छ । दाइजो नदिई धरै छैन ।


‘कान्छी छोरी सानै भएकाले माइलीको बिहेका लागि लिएको ऋणको किस्ता सकेर मात्र कान्छीको विवाह गर्छु’, उनको गुनासो छ ।