close

कोरोनाको मारमा लक्षित वर्ग 

कोरोनाको मारमा लक्षित वर्ग 

Trulli
ADVERTISEMENT

दाङ - कोरोनाको कारण देखाउँदै दाङका स्थानीय सरकारहरूले लक्षित वर्गको बजेट रकमान्तर गरेर अन्यत्र खर्चिंदा त्यसको प्रत्येक्ष मारमा लक्षित वर्ग परेको छ । लक्षित वर्गका लागि गत आर्थिक वर्षमा विनियोजन गरेको बजेट स्थानीय सरकारहरूले कोरोना खर्चमा लगाएका छन् ।

 

विपन्न र निम्न वर्गको आर्थिक, सामाजिक विकास गराउने उद्देश्यले स्थानीय सरकारले लक्षित वर्गअन्तर्गत बजेट विनियोजन गर्दै आएका छन् । त्यस्ता बजेट सम्बन्धित क्षेत्रमा खर्च नगरेर गत वर्ष अन्य शीर्षकमा रुपान्तरण गरिएको छ ।

 

लक्षित वर्गको रकम स्थानान्तरण गरेर सवारीसाधन खरिद, बाटो, कल्भर्ड, कुवा, भवन निर्माणका साथै कोरोना कोषका नाममा खर्च गरिएको छ । तुलसीपुर उपमहानगरले ८० लाख, घोराही उपमहानगरले २० लाख र बबई गाउँपालिकाले १३ लाख गरी लक्षित वर्गको झन्डै १ करोड १३ लाख रुपैयाँ रकमान्तर गरेर अरु क्षेत्रमा खर्च गरिएको छ 

 

तुलसीपुर उपमहानगरको नगरस्तरीय कार्यक्रमअन्तर्गत दलित तथा लक्षित वर्गका लागि आर्थिक वर्ष २०७६/७७ मा विनियोजन गरिएको ४० लाख रुपैयाँ रकमान्तर गरेर पूर्वाधार निर्माण खर्च गरिएको छ । 

 

उपमहानगरको छैठाैँ नगरसभाको पहिलो बैठकको निर्णयअनुसार लक्षित वर्गअन्तर्गतको उक्त बजेट रकमान्तर गरेर बाटो, कभर्डहल, शौचालय निर्माण गरिएको छ ।तुलसीपुर उपमहानगरले लक्षित वर्गको ८० लाख रुपैयाँ फरक रुपमा खर्च गरेको छ । यसमा ४० लाख पूर्वाधार विकास र ४० लाख रुपैयाँ कोरोना विशेष कोषको नाममा लक्षित वर्गको रकम खर्च गरिएको छ । 

 

तुलसीपुर उपमहानगर वडा- १२ का स्थानीय काशीराम नेपाली लक्षित वर्गको पैसाबाट सीपमूलक तालिम सञ्चालन गर्ने र स्वरोजगार बनाउने उद्देश्य रहे पनि रकम प्रयोग गर्न नपाउँदा समस्या भएको बताउँछन् । 

 

‘युवा तथा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन तालिममार्फत स्वरोजगार बनाउने योजना थियो । तर, कोरोनाको कारण देखाएर विनियोजित बजेट अन्यत्रै खर्च गरिएपछि मारमा परेका छौँ’, उनले भने । 

 

तुलसीपुर उपमहानगरको वडा- ११ ले लक्षित वर्ग महिला, आदिवासी जनजाति, दलित बालबालिका, अपांगको क्षेत्रमा विनियोजन गरेको ४ लाख ५० हजार रुपैयाँ रकमान्तर गर्दै फरक शीर्षकमा खर्च गरेको छ ।

 

वडाले लक्षित वर्गको बजेट कोरोना नियन्त्रणको नाममा रकमान्तर गरेर खर्च गरेको हो । वडा- १३ मा वडासभा हुँदै नगरसभाले पास गरेको ज्येष्ठ नागरिक, दलित, महिला, बालबालिका, युवा, अपांग, जनजातिलगायतको नाममा विनियोजित ४ लाख रुपैयाँ बजेट रकमान्तरग गरेर अन्य शीर्षकमा खर्च गरिएको छ । 

 

तुलसीपुर उपमहानगर उपप्रमुख माया शर्मा आचार्यले लक्षित वर्गका लागि बजेट छुट्याइए पनि यो वर्ष रकमान्तर गरेर अरू क्षेत्रमा खर्च गरिएको स्वीकारिन् । ‘कोरोनाका कारण लक्षित वर्गको गतिविधि गर्न सकेनौँ । त्यसैले अरू शीर्षकमा रकमान्तर गरिएको हो,’ उनले भनिन्, ‘रकमान्तर गरिएको पैसा पूर्वाधार र कोरोनामा खर्च गरिएको छ ।’

 

नगर प्रवक्ता तथा सुशासन समिति संयोजकसमेत रहेका तुलसीपुर- १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले फागुनसम्म खर्च हुन नसकेको लक्षित वर्ग कार्यक्रमको सबै रकम रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गरिएको जानकारी दिए ।

 

‘लक्षित वर्गको रकम भेला, गोष्ठी, तालिममा खर्च गर्ने गरी छुट्याइएकामा कोरोनाले यी सबै गतिविधि बन्द भएकाले रकमान्तर गरिएको हो’, उनले भने ।


बबई गाउँपालिकाले लक्षित वर्गअन्तर्गतको १३ लाख रुपैयाँ रकमान्तर गरेर कोरोनामा खर्च गरेको छ । लक्षित वर्गको सीपमूलक तालिम र सामाजिक क्षमता विकासका लागि भनेर विनियोजन गरिएको ७ लाख २० हजार, अपांग नागरिकको क्षमता विकास लागि विनियोजित ३ लाख, युवाहरूको खेलकुदका लागि विनियोजन गरेको २ लाख ८० हजार रुपैयाँ रकमान्तर गरेर विपद्मा खर्च गरिएको छ । 


गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले लक्षित वर्गअन्तर्गत सशक्तीकरण, सीपमूलक र क्षमता विकासका लागि विनियोजन गरेको बजेट कोरोनामा रकमान्तर भएको जानकारी दिइन् । ‘पहिले काम गर्न सकिएन । पछि निर्देशन नै त्यस्तै आएपछि रकमान्तर गरिएको हो’, उनी भन्छिन्, ‘सबै पैसा कोरोनामा खर्च गरेका छाैँ ।

 

लक्षित वर्गको रकम कोरोनामा खर्च हुँदा त्यो समुदाय प्रभावित भएको छ । युवा परिषद् दाङका अध्यक्ष सुरेश रावत स्थानीय तहहरूलाई युवामैत्री बनाउने नीति हुँदाहुँदै पनि युवाको बजेट अर्काे शीर्षकमा खर्च गरिनु गलत भएको तर्क गर्छन् ।

 

घोराही उपमहानगरका वडा कार्यालय र नगर स्तरीय लक्षित वर्गको विनियोजित रकम कोरोना कोषमा रकमान्तर गरेर खर्च गरिएको छ । उपमहानगरका सूचना अधिकारी भीमबहादुर चौधरीले कम्तीमा २० लाख रुपैयाँ लक्षित वर्गको पैसा रकमान्तर भएको बताए ।