close

दोलखाले यसरी सम्झियो विनासकारी भूकम्प

दोलखाले यसरी सम्झियो विनासकारी भूकम्प

Trulli
ADVERTISEMENT

दोलखा- २३ औं भूकम्प सुरक्षा दिवस शुक्रबार सदरमुकाम चरीकोटमा विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा २०७२ सालको विनासकारी भूकम्पले दोलखाका ५८ हजार ३ सय ८८ वटा निजी आवास भत्किएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

 

सरकारी कार्यालय, सार्वजनिक भवनबाहेक निजी आवासका लागि हालसम्म १८ खर्ब ५३ करोड १४ लाख ५० हजार रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 

 

विनासकारी भूकम्पले दोलखामा १ सय ६० जनाको ज्यान लिएको थियो । भूकम्पमा ६ सय ३ जना घाइते भएका थिए ।

 

१२ वैशाख २०७२ मा गएको भूकम्पले करिब ४१ अर्ब ७९ करोड ८१ लाख १४ हजार ६ सय १४ रुपैयाँ बराबरको क्षति भएको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख टीकाप्रसाद जोशीले बताए । 

 

१२ वैशाख २०७२ मध्याह्न १२ बजे गएको भूकम्पले ९ हजारभन्दा बढीको ज्यान लिएको थियो भने २० हजार बढी घाइते भएका थिए । झन्डै ५ लाख घर ध्वस्त भएको तथ्यांक रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख जोशीले बताए ।


१९९० सालको भूकम्पपछिको दोस्रो ठूलो भूकम्प २०७२ वैशाखमा गएको थियो । नेपालमा साना-ठूला गरी ४५ हजार पराकम्पन गएका छन् । तीमध्ये ४ रेक्टर स्केलमाथिका ५ सय २० वटा पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोे छ ।


भूकम्पबाट दोलखामा १ लाख १९ हजार ९ सय ६१ पुरुष र १ लाख १९ हजार ७ सय ७९ महिला गरी २ लाख ४३ हजार ४ सय ११ जना प्रभावित भएका थिए । हालसम्म पुनर्निर्माण लाभग्राही ७० हजार ८ सय ८९ जना र रेट्रोफिटिङ लाभग्राही २ हजार ६ सय ६८ मध्ये ६७ हजार २ सय ३० जनाले अनुदान सम्झौता गरिसकेका छन् ।

 

३ हजार ३ सय २७ जनाको अनुदान सम्झौता हुन बाँकी रहेको जोशीले जानकारी दिए । ‘भूकम्पपीडितमध्ये पहिलो किस्ता ६९ हजार ५ सय ५१ जनाले, दोस्रो किस्ता ६४ हजार ९५ जना र तेस्रो किस्ता ६१ हजार ७ सय ९३ जनाले लिएका छन्’, उनले भने ।

 

दोलखामा अनुदान फिर्ता गर्ने लाभग्राही १ सय ३५ जना रहेका छन् । पुनरावेदन दर्ता गर्ने लाभग्राही ४ हजार १७ जना र जोखिम वर्गका लाभग्राही १ हजार १ सय ५१ जना छन् । 


२०७४ मा स्थानीय सरकार बनेपछि भूकम्पपीडितले राहत पाएको जोशीको बुझाइ छ । भवन निर्माणपछि सहज रूपमा पहिलो, दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिधिले सहयोग गरेको भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य दीपक घनुकेले दाबी गरे ।

 

‘दोलखाका भूकम्पपीडितले निजी आवास जनप्रतिनिधिकै कारण सहज रूपमा निर्माण गरेका छन्’, उनले भने ।

 

स्थानीय निकायका कारण निजी निवास, सरकारी कार्यालय, पुरातात्त्विक सम्पदा निर्माण भएको उनको दाबी छ । केही सरकारी भवन निर्माणको चरणमा रहेको उनले बताए । 

 

भूकम्पबाट दोलखालाई उठाउने काम जनप्रतिनिधिले नै गरेको स्थानीय समाजसेवी रोहित खड्काको दाबी छ ।

 

संखुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको भूकम्पले नेपाल ठूलो जनधनको क्षति पुगेको थियो । २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ७ सय २१ जनाको ज्यान लिएको थियो ।


२०७३ मा पनि ४१ पटक पराकम्प गएको थियो । त्यसबेला दोलखा, सिन्धुपाल्चोक, बझाङ, नुवाकोटलगायत क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको खानी तथा भू-गर्भ विभागअन्तर्गतको राष्ट्रिय पराकम्प मापन केन्द्रले जनाएको छ ।