close

बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने बकैया देशकै दोस्रो पालिका

बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने बकैया देशकै दोस्रो पालिका

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको बकैया बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने देशकै दोस्रो गाउँपालिका बनेको छ । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैयालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।


यसअघि मकवानपुरकै मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री पालिका बनेको थियो । बालमैत्री पालिका घोषणाको चरणमा रहेका देशभरका थुप्रै गाउँपालिकालाई पछि पार्दै बकैया बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने गाउँपालिका बनेको हो ।

 

बकैया देशभरका गाउँपालिकाबाट बालमैत्री घोषणा हुने दोस्रो बनिरहँदा जिल्लाका अन्य गाउँपालिकाले भने भर्खरै प्रक्रिया अगाडि बढाएका छन् ।


कतिपय गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणाका लागि काम अगाडि बढाएकै छैनन् । २९ माघमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्रमा हस्ताक्षर गर्दै बकैयालाई बालमैत्री गाउँपालिका घोषित गरे ।

 

पौडेलले देशभरका गाउँपालिकामध्ये दोस्रो भएकामा बकैयालाई बधाइसमेत दिए । उनले बालमैत्री घोषणा घोषणामै सीमित नराख्न सुझाए ।

 

बकैयाले बालमैत्री अभियान सञ्चालन गरेको करिब ३ वर्षपछि घोषणा गर्न सफल भएको हो । बालमैत्री घोषणाका लागि आधारभूत रूपमा बालश्रम र बालविवाहमुक्त क्षेत्र बनाइएको छ ।

 

बालविवाह रोक्ने, बालश्रम न्यूनीकरण गर्ने कामलाई निरन्तरता दिइएको छ । गाउँपालिकाले ३० असार २०७४ को गाउँसभाबाट बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने निर्णय गरेको थियो ।

 

१७ पुस २०७४ मा बालमैत्री गाउँपालिका घोषणाका लागि सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।

 

प्रतिबद्धताअनुसार गत पुसभित्रै गाउँपालिकालाई बालमैत्री घोषणा गरिसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण बालमैत्री अभियानका कार्यक्रम सञ्चालनमा रोक लगाउन परेपछि घोषणालाई १ महिना धकेल्नु परेको गाउँपालिकाले जनाएको छ ।


बकैयाले बालमैत्री घोषणाका लागि आर्थिक वर्ष २०७६/७७ मा ५० लाख र चालू आर्थिक वर्ष २०७७/७८ मा ८० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 

३ वर्षदेखि गाउँपालिकास्तरीय सञ्जाल गठन, बाल विवाह, बालश्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन न्यूनीकरण, टोल विकास संस्था, महिला सहकारी र विद्यालयमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको गाउँपालिकाले बताएको छ ।


गत कात्तिकमा गरिएको सर्वेक्षणअनुसार बालमैत्री स्थानीय शासन अवलम्बनका लागि कुल ३९ सूचकमध्ये १९ वटा सूचकमा १ सय प्रतिशत र २० वटा सूचकमा ८० प्रतिशत प्रगति हासिल गरेपछि जिल्ला समन्वय समिति मकवानपुरले घोषणाको अनुमति दिएको थियो ।

 

मुख्यमन्त्री पौडेल र बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल सहभागी कार्यक्रमको घोषणासभामा प्रदेशसभा सदस्यद्वय जुनेली श्रेष्ठ, सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङतानलगायत उपस्थित थिए ।