close

हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप

हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप

Trulli
ADVERTISEMENT

मकवानपुर– बाग्मती प्रदेश मुकाम हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु भएको छ । मकवानपुरका १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हेटौंडा उपमहानगरको वडा नम्बर १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा गोल्डकप सुरु भएको हो ।

 

७ चैतसम्म हुने गोल्डकपमा एउटा अन्तर्राष्ट्रिय क्लबदेखि ए डिभिजन लिगका र मोफसलका क्लबको सहभागिता छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको गोल्डकपका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

गोल्डकपको अघिल्लो संस्करणमा विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए ।

 

प्रतियोगितामा लिग च्याम्पियन माच्छिन्द्र क्लबसहित एडिभिजनका ६ वटा क्लब नेपाल पुलिस क्लब, नेपाल आर्मी, एपीएफ क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, विदेशी (अफ्रिकन रुटुस एसोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र २ वटा मोफसलका बाग्मती युवा क्लब सर्लाही, नव जनजागृति युवा क्लब, सिमराले उपाधिका लागि मैदानमा भिड्दै छन् ।

 

बिहीबार उद्घाटन खेलमा आयोजक मकवानपुर–११ र सिमराको नवजनजागृति क्लबले स्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । गोल्डकप तेस्रो संस्करणसम्म आइपुग्दा स्थानीय तहले पहिलो पटक प्रायोजन गरेको हो । यसअघि निजी संस्थाको प्रयोजनमा गोल्डकप गरिएको थियो ।

 

मकवानपुरका स्थानीय तहहरूले ६५ लाख रुपैयाँ गोल्डकप आयोजनाका निम्ति प्रायोजन गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले ५ लाख, मकवानपुरगढी, मनहरि, राक्सिराङ, कैलाश, इन्द्रसरोवर, भीमफेदी, बकैया र बागमती गाउँपालिकाले ५÷५ लाख रुपैयाँ गोल्डकपका लागि सहयोग गरेका छन् ।

 

गोल्डकपको कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँ लागत अनुगमान गरिएको छ । प्रतियोगितामा मुख्य प्रायोजकबाट ७० लाख, टिकटबाट १४ लाख ५० हजार र प्रायोजकबाट ६ लाख तथा अन्य व्यक्ति तथा संस्थाको सहयोगबाट ३ लाख ९० हजार रकम संकलन गर्ने फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिताको चरण अनुसार टिकटको व्यवस्था गरिएको छ ।