close

गाउँका सिंहदरबारले सुन्दैनन् नागरिकका गुनासा

गाउँका सिंहदरबारले सुन्दैनन् नागरिकका गुनासा

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ९ चिल्खायाका स्थानीयले गाउँका सिंहदरबारले आफूहरूका गुनासा नसुन्ने गरेको सुनाएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कालीकोटले चिल्खायामा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले गुनासैगुनासाका ठेली बाहिर ल्याएका हुन् । 

 

वडा नम्बर ९ का चन्द्र विकले नागरिक सुनुवाइ कार्यक्रममा भने, ‘गाउँमा खानेपानी अभाव छ । ३ वटा गाउँका लागि एउटा कुवा छ । विद्यालयमा नियमित पढाइ छैन । गाउँका स्वास्थ्य संस्थाहरूमा सिटामोल पाइँदैन । सुत्केरी व्यथा लागेका महिलाहरूको स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा ज्यान जान्छ । गाउँमा सरकार भए पनि हाम्रो दुःख हटेन ।’


तिलागुफाका रुडु र भात्तडीका बिरामीलाई स्वास्थ्य संस्थामा पुग्न ३ घन्टाको भीर बाटो पैदलै हिँड्नुपर्छ । स्ट्रेचरमा बिरामी बोक्न सजिलो हुने घोरेटो बाटो पनि छैन ।


‘यी सबै समस्या तिलागुफाका जनप्रतिनिधि, जिल्लाका सांसददेखि कर्णालीका मुख्यमन्त्रीसम्मलाई सुनायौँ । तर, हाम्रो व्यथा कसैले सुनिदिएनन्’, विक निराश सुनिए ।

 

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँमा वितरण गर्ने परिवार नियोजनका अस्थायी साधन, पिल्स, कण्डम, गर्भवती महिलालाई आइरनजस्ता सामान्य औषधी पनि नपाइने गरेको बताइन् । उनले भनिन्, ‘आइरन चक्की लिन आएका गर्भवती महिला रित्तो हात फर्किने गरका छन् ।’ 


कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जनताका समस्या, गुनासा सुन्न तथा बालविवाह, बहुविवाह, छाउपडी, छुवाछूत, आगूऔषध दुव्र्यसन, घरेलु हिंसाजस्ता सामाजिक अपराध न्यूनिकरण गर्न गाउँ–गाउँमा नागरिक सुनुवाइ अभियान सुरु गरिएको जानकारी दिए ।

 

‘पचालझरनाको जारकोट र तिलागुफाको चिल्खायामा नागरिक सुनुवाइ कार्यक्रम भइसके । अन्य स्थानीय तहका विभिन्न विकट बस्तीहरूमा लगातार कार्यक्रम गर्ने योजना छ,’ उनले भने । 


प्रहरीबाट नागरिकले गरेका अपेक्षा पूरा गर्ने, नागरिक र प्रहरीको सम्बन्ध गाउँस्तरसम्मै सुमधुर बनाउने, सामाजिक विकृतिविरुद्ध सचेतना जोगाउने, कानुन कार्यान्वयनमा कडाइ गर्ने लक्ष्य रहेको उनले बताए । गाउँमा हुने अपराध र नागरिकलाई परेका समस्याका लागि १०० मा फोन गर्न पनि आग्रह गरे । 


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नागरिकमैत्री सेवा प्रवाहमा जिल्ला प्रशासन र सुरक्षा निकाय प्रतिबद्ध रहेको बताए । उनले जिल्ला प्रशासनद्वारा प्रदान गर्ने सेवा, आवश्यक पर्ने प्रक्रियाका विषयमा जानकारी गराउँदै मुस्कानसहितको सेवा लिन सबैलाई आग्रह गरे ।


‘जिल्लामा शान्ति-सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न नागरिकको साथ आवश्यक छ’, प्रजिअ आचार्यले भने ।