close

सरकारको नजर नपर्दा चिरा परेकै घरमा बास

सरकारको नजर नपर्दा चिरा परेकै घरमा बास

Trulli
ADVERTISEMENT

कालीकोट- गत असार र साउनको अविरल वर्षाले उजाडिएको रास्कोट नगरपालिकाको वडा नम्बर १ र शान्नि त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को बस्तीमा अझैसम्म सरकारको नजर पर्न सकेको छैन ।

 

अविरल वर्षाले रास्कोट नगरपालिका १, २, ३ नम्बर वडाका गाउँमा पहिरोले गाउँ नै उजाडिदिएको छ । पहिरोपछि साउन, भदौ र असोजको आधा महिनासम्म त्रिपाल टाँगेर चौरमा बसेरै भए पनि जसोतसो दिन काट्यौँ’, रास्कोट नगरपालिकाको वडा नम्बर १ का पहिरोपीडित परेकबहादुर शाहीको गुनासो छ । 

 

हिउँद महिनामा वर्षा रोकिएपछि पहिरोले चिराचिरा परेको घरमा डरैडरमा बस्नुपरेको उनले सुनाए । बर्खा लाग्ने मौसम आउन थालेसँगै कता बस्ने भन्ने चिन्ता मनमा परिसकेको उनले बताए ।

 

शाहीले भने, २ दिन बाँच्न लेखेको रहेछ । गत वर्ष असारको पहिरोबाट धन्न बाँचियो । पहिरोले एउटा घर लग्यो, एउटा घर चिराचिरा परेको छ । अहिले यही चिराचिरा परेको घरमा परिवार राखेर बसिरहेका छौँ । भएको खेत पनि पहिराले खाइदियो ।’ 

 

यता हेर्दा पनि पहिरो, उता हेर्दा पनि पहिरो । कुन दिन यही पहिरोमा पुरिने हो भन्ने चिन्तामा नागरिक छन् । देला र खाउँला भन्नेमा अब त सरकारको पनि आश छैन । पहिरो आएर स्कुलको चौरमा त्रिपालमा बसेका बेला हेलिकोप्टरमा आएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ५ किलो चामल मात्र दिएर गएको पीडित बताउँछन् । 

 

‘न स्थानीय सरकार आयो, न त कुनै सरकार । ५ किलो चामल राहत मात्र हो । पहिरोपछि सरकारले कुनै खबरी गरेन’, पीडित शाहीको गुनासो छ ।

 

शाही मात्र होइन, पहिरोबाट आफ्नो आमा गुमाएका सोही वडाका गोगनबहादर भण्डारीले पनि उस्तै पीडा सुनाए । ‘गाउँमै बसौँ पहिरोको डर छ । नबसाैँ अन्त कतै जाने ठाउँ छैन । पुर्खांैदेखि बस्दै आएको आफ्नो थातथलो कसरी छाडौँ । छाड्ने मन नहुँदा पनि गाउँ नै छाड्नुपर्ने बाध्यता छ । वैशाखसम्म तराई बसाइँसराइ जाने योजना छ’, भण्डारीले भने ।

 

गाउँ, छिमेकी भएको खेतीपाती छाडेर जाने मन नभए पनि बस्ने ठाउँ नै सुरक्षित नभएपछि हिँड्नुपर्ने अवस्था आएको पहिरोपीडित नमराज शाही बताउँछन् । उनले भने, ‘एउटै गाउँमा रहेका ७ परिवार आउँदो हिउँदसम्म तितरबितर हुने अवस्थामा छौँ । सरकारले कुनै सुरक्षित गाउँमा ठाउँ दिएर बसाल्न सकेन ।’

 

पहिरोपीडित नमराजको नजिकैका छिमेकीको घर २९ असारको पहिराले पुरेको हो । पहिराले छिमेकीको घर पुरिँदा २१ वर्षीया किशोरीको मृत्यु भएको थियो । तुसार खोलामा आएको पहिरोले किशोरी मात्र होइन, त्यही खोलाको पहिरोले ४ जनाको ज्यान गएको थियो ।


गाउँ नै उजाडिएर आएको पहिरोले गर्दा उनले त्यो क्षण बिर्सिनै सकेका छैनन् । नमराजका जेठा छोरा सत्य शाहीलाई २०७० को पहिरोले लगेको थियो । 

 

दाजुभाइ र आफू कामका लागि सधैँ बाहिर हुने भएकाले घरमा बाबुआमा, श्रीमती, साना छोराछोरी मात्रै रहेको उनले भने । ‘गाउँ नछाडे सुरक्षित भइँदैनजस्तो लागेको छ । केही व्यवस्था गरेर ढिलोचाँडो गाउँ त छाड्नैपर्छ,’ नमराजले भने ।

 

संघ र प्रदेश सरकाले पहिरोपीडितको व्यवस्थित बासका लागि अहिलेसम्म नगरपालिकालाई कुनै जानकारी नगराएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द बरालले बताए । उनका अनुसार नगरपालिकाको बजेटले पहिरोपीडितको समस्या हल गर्न सकिने अवस्था छैन । ‘स्थानीय सरकारले पटक-पटक पटक बस्ती स्थानातरणका लागि पहल गरिरहेको छ’, उनले भने ।

 

अहिले रास्कोटको सुन्दर गाउँ पहिरोले उजाडिएको छ । रास्कोट मात्र होइन, जिल्लाको नरहरिनाथ गाउँपालिका र शान्नि त्रिवेणी गाउँपालिकामा पनी यस्तै पीडादायी अवस्था छ ।