close

विवादमा फस्यो प्रधानमन्त्रीले चिनाएको खुवालुङ

विवादमा फस्यो प्रधानमन्त्रीले चिनाएको खुवालुङ

Trulli
ADVERTISEMENT

मोरङ- गत ८ फागुनमा विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सप्तकोसीमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेरै भए पनि फुटाउने उद्घोष गरे ।

 

तर, प्रधानमन्त्रीको घोषणाले चर्चाको शिखरमा पुगेको खुवालुङ पछिल्लो समय भने विवादमा तानिएको छ । प्रधानमन्त्री ओलीले गरेको भाषणकै कारण अहिले सरकार विवादमा तानिएको हो ।

 

सरकारले सप्तकोसीमा जेटबोट चलाउन नदीबीचको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसको विवाद केही सातादेखि सतही रूपमा चर्किरहेको छ ।

 

यसअघि पनि अरुण र तमोरको संगम स्थलमा रहेको खुवालुङले जेटबोट चलाउन बाधा दिएको भन्दै फुटाउन जेटबोट सञ्चालक कम्पनीका पदाधिकारीले पटक-पटक प्रयास गरेका थिए । 

 

ठूलो जेटबोटबाट दूधकोसी नदीको दोलालघाटसम्म पुग्न बाधा दिने खुवालुङसहित नदीको बीच-बीचका अन्य ढुंगा पनि फुटाउनुपर्ने प्रयास जेटबोट सञ्चालकले गर्दै आएका थिए । स्थानीयको विरोधपछि उनीहरू प्रधानमन्त्रीलाई गुहार्न पुगेका थिए । 

 

विवाद चर्किएसँगै खुवालुङ बचाउ अभियान पनि चलेको छ । विवादका बीच किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताउँदै आइरहेको छ । 

 

विकल्प खोज्ने प्रयास हुँदाहुँदै पनि सरकारले आस्थालाई मेटाउन खोजेको किरात समुदायका अगुवाको तर्क छ । विकल्प खोज्न छाडेर सरकार अस्तित्व मेटाउने खेलमा लागेको किरात राई यायोख्खाका केन्द्रीय सचिव अर्जुन जम्लेलीले बताए । 

 

अरुण र तमोरको संगम स्थलमा सदियौँदेखि रहेको खुवालुङलाई किरात खुम्बु (राई) समुदायको संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध रहेको किरातका अगुवा बताउँछन् । किरातको मिथ, संस्कृति र सभ्यतासँग खुवालुङको सम्बन्ध जोडिएको भन्दै फुटाउन नहुने उनीहरूको भनाइ छ ।

 

खुवालुङलाई किरात खम्बु समुदायले आफ्नो देउता भएको र सबै संस्कार यही ढुंगाबाट सुरु हुने गरेको जनाएको छ । किरात राई चाम्लिङ भाषामा खु भनेको ठूलो खोला नदी, वा भनेको पानी र लुङ भनेको ढुंगा हुन्छ । नदीको पानीमा रहेको ढुंगालाई खुवालुङ भनिन्छ ।

 

यो खुवालुङसँग किरातीहरूको मिथक, इतिहास एवं मुन्दुम जोडिएको र फुटाए अनिष्ट हुने विश्वास रहेको सचिव जम्लेलीले बताए । 

 

किराती मुन्दुममा दक्षिणको विशाल तराईबाट कोसी नदीलाई पच्छ्याउँदै पुर्खाहरू पहाड लाग्दा खुवालुङ क्षेत्रमा पुगेपछि बाटो बन्द भएको र पूजाअर्चना गरेसँगै बाटो खुलेपछि उनीहरू पहाडतिर लागेको किरातीको किंवदन्ती छ ।

 

बाटो खोलिदिने खुवालुङमा किराती शक्ति रहेको विश्वासमा बर्सेनि भेला भएर पूजा गरिँदै आएको छ । 

 

दबाबका कार्यक्रम चलाइए पनि सरकारले यो विषयमा कुनै चासो देखाएको छैन । नागरिक अगुवादेखि प्रदेशकै सांसदहरूले समेत यसको विरोध गर्दै आएका छन् ।

 

किरातीहरूको सभ्यतासँग जोडिएकाले खुवालुङलाई फुटाउन नहुने प्रदेश १ का पूर्वअर्थमन्त्री इन्द्र आङबो बताउँछन् । बिकास निर्माण रोक्न नहुने भएकाले विकल्प खोजेर लैजानुपर्ने आङबोको तर्क छ ।

 

किराती समुदायकै मुख्यमन्त्री शेरधन राईले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उक्त स्थानमा अहिले खुवालुङको अध्ययन तथा भ्रमणका लागि आउनेको संख्या बढिरहेको छ ।