close

पानीढलोका पूर्वाधारमा भारतको बलमिच्याइँ

पानीढलोका पूर्वाधारमा भारतको बलमिच्याइँ

Trulli
ADVERTISEMENT

दार्चुला- २०७० को महाकाली बाढीपछि नेपाल सरकारले सदरमुकाम खलंगा जोगाउन साढे ४ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गर्‍यो । गल्फैको नमस्कारदेखि बंगाबगडको लास्कु खोलासम्म आफ्नै भूमितर्फ तडबन्ध गर्दा भारतीय पक्षको पटक-पटक अवरोध खेप्नुपरेको थियो । 

 

बाढीले सयौँ घर बगेको पीडामा मल्हम लगाउने गरी भइरहेको तटबन्ध निर्माणमा भारतीय अवरोधले निर्माण कार्य नै बेलाबेला बन्द गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय सन्धिले सीमा क्षेत्रमा पक्की संरचना बनाउँदा दुवै राष्ट्रको सहमति चाहिन्छ । नेपालले भारत सरकारको सहमतिमै आफ्नो जमिन जोगाउन पक्की तटबन्ध नदीले बनाएको धारभन्दा वरै निर्माण गरेको हो । 

 

तर, अहिले आएर भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेको छ । सदरमुकाम खलंगाको वीरेन्द्र वनपारिपट्टि भारतले जानकारी नगराई नेपालकै भूमि पर्ने क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिरहेको हो ।

 

भारतले एकतर्फी नेपाली भूमीमा बनाएको तटबन्ध रोक्न महाकाली नदी नियन्त्रण अयोजना, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई २ महिनाअघि नै पत्राचार गरेका थिए । 

 

नेपाली प्रशासनको पत्राचारलाई वेवास्ता गर्दै भारतले निर्माण कार्य निरन्तर गरिरहेको छ । २०७० को बाढी आउँदा अहिले भारतले बनाइरहेको तटबन्ध क्षेत्र नेपालको भूमि हो । त्यो क्षेत्रमा उतिबेला वन, भू-संरक्षण, अस्पताल र केही व्यक्तिगत जमिन त्यही पुगेको छ । 

 

‘सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सामान्यतया दुवै देशको सहमति चाहिने कुराको हेक्कासमेत भारतले राखेको छैन’, महाकाली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तोरनप्रसाद अवस्थीले भने, ‘ठूलो देश भन्दैमा हाम्रै भूमिमा जबर्जस्ती एकतर्फी तटबन्ध निर्माण गर्नुहुँदैन ।’ 

 

बाढीले नेपालको भूमि भारत पुर्‍यायो । सामान्यतया नदीको सीमा क्षेत्र दसगजा क्षेत्रमा पूर्वाधार निर्माण गर्नुहुँदैन । २०७० को बाढी आउनुपूर्व पनि भारतीय पक्षले पुलघाट क्षेत्रपारि पक्की तटबन्ध निर्माण गरेको थियो । सोही कारण सदरमुकाम खलंगाको बंगाबगड र रिङताल बगाएको थियो । 


पछिल्लो समय भारतले एकतर्फी बनाइरहेको तटबन्धले नेपालपट्टिको तटबन्धलाई खतरामा पार्ने भन्दै दार्चुलाका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

 

महाकाली बाढीपीडित संघर्ष समितिका सचिव रघुवीरसिंह ठगुन्ना भारतले नेपालको सहमतिबिनै तटबन्ध निर्माण गर्न नहुने तर्क गर्छन् । ‘त्यो भूमि हाम्रै हो’, उनले भने, ‘जुन प्रकारले भारतले तटबन्ध बनाइरहेको छ, यसले नेपालपट्टिको तटबन्धमा असर पुर्‍याउँछ ।’

 

दार्चुलाका स्थानीय अहिले पनि भारतले मनपरी सदरमुकाम खलंगालाई जोखिममा पार्ने गरी तटबन्ध निर्माण गरिरहेको बताउँछन् । 

 

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भारतले तटबन्ध निर्माण गरेको विषयमा संसद्मा पटक-पटक ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘भारतले जुन तटबन्ध हालेको छ, त्यो हाम्रै भूमि हो । हाम्रो सहमतिबिनै निर्माण गरिरहेको तटबन्ध निर्माण तत्काल रोकिनुपर्छ ।’ 

 

तटबन्ध निरीक्षण टोली दार्चुलामा


महाकाली नदीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली दार्चुला पुगेको छ । भारतले एकतर्फी रूपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विषयमा संसद्मा आवाज उठेपछि टोली दार्चुला आएको हो । 

 

निर्माण गरेको तटबन्धको निरीक्षण गर्न ५ सदस्यीय नेपाली प्राविधिकको टोली आइतबार दार्चुला पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । 

 

सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ । उक्त विषयमा स्थलगत निरीक्षणका लागि नेपाल र भारतबाट ५-५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो । 

 

टोलीले सोमबार तटबन्धको स्थलगत निरीक्षण गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जाेसीले बताए ।