close

जीर्ण सडक बनाउन माग राखेर चक्काजाम

जीर्ण सडक बनाउन माग राखेर चक्काजाम

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- अढाई दशकदेखि जीर्ण सिद्धिचरण राजमार्गअन्तर्गत सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडक खण्ड स्तरोन्नतिका लागि संघर्षका कार्यक्रम तय गरिएको छ ।

 

संघर्ष समितिका संयोजक तथा कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाथोलीले सडक खण्ड अनिश्चित कालीन बन्द गर्नेसम्मको कार्यक्रम तय गरेको बताए ।

 

समितिको आइतबार बसेको बैठकले तत्काल सडक खण्ड स्तरोन्नतिका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । ज्ञापनपत्रलगत्तै कुनै प्रक्रिया अघि नबढे आगामी ६ वैशाखदेखि कटारी नगरपालिकाको मरुवा, पट्नाभञ्ज्याङ, गहुँबारी, बेतेनीमा एम्बुलेन्सबाहेकका सवारी साधन अनिश्चित कालका लागि सञ्चालन गर्न नदिने समितिले निर्णय गरेको छ ।

 

संयोजक बुढाथोकीका अनुसार समितिले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा राजमार्गमा २ लेन सडक कालोपत्रेका लागि लगत स्टिमेटअनुसार बजेट सुनिश्चित हुनुपर्ने, त्यो सुनिश्चित नभएसम्म स्काभेटर, पानी ट्यांकर, टिपरलगायत तत्काल सडकका समस्या समाधान गर्दै आउजाउ गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक सञ्चालन हुनुपर्नेजस्ता माग राखिएको छ ।

 

समितिमा कटारी नगरपालिका वडा नम्बर ८ देखि १४ सम्मका सडक खण्डले जोडिएका वडाध्यक्ष छन् ।

 

सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । यो क्षेत्र कटारी नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । 

 

यो सडक खण्डमा वर्षौं अघि गरिएको ओटासिल भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुले सास्ती भोग्नुपरेको छ । 

 

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुका सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रु बर्खामा हिलो र हिँउदमा धुलोसहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

२०५२ देखि निर्माण सुरु भएर २०५८ मा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडक खण्डमा भत्किएका खाल्डासमेत नपुरिँदा उदयपुरको कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडक खण्ड अहिले जीर्ण भई जोखिम अवस्थामा छ ।

 

सडकका दायाँबायाँ रहेका भाग अधिकांश भत्किएका छन् भने बीचबीचमा ठूला खाल्डा परेका कारण साना तथा ठूला सवारी साधन सञ्चालन गर्न दिनानुदिन जोखिम बढ्दै गएको छ ।