close

घटाल थानमा लाग्ने विसु जाँत पूजाआजामै सीमित

घटाल थानमा लाग्ने विसु जाँत पूजाआजामै सीमित

Trulli
ADVERTISEMENT

डडेल्धुरा- नयाँ वर्ष तथा सुदूरपश्चिमेलीको महान् पर्व विसु अवसरमा २ वैशाखमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा लाग्ने विसु जाँत (मेला) नित्य पूजाआजामा सीमित हुने भएको छ । 

 

डडेल्धुराको अमरगढी वडा नम्बर ३ डोटी खोलाको पुछारमा रहेको घटाल थानमा हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन अर्थात् २ वैशाखमा विसु जाँत (मेला) लाग्ने गर्छ ।

 

कोरोना महामारीलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयले घटाल थानमा नित्य पूजाआजाबाहेक मेला, जमघट, भीडभाड नगर्न-नगराउन निर्णय गरेकाले विसु जाँत (मेला) नहुने भएको हो । 

 

यसअघिका वर्षमा हजारौँ दर्शनार्थीको सहभागितामा सम्पन्न हुने विसु जाँत यस वर्ष सीमित व्यक्तिको सहभागितामा नित्य पूजाआजामा सीमित हुने घटाल क्षेत्र विकास समाजले जनाएको छ । कोरोनाको संक्रमणबाट बच्न डडेल्धुरामा स्थानीय प्रशासन, घटाल क्षेत्र विकास समाज र स्थानीय सरकारको समन्वयमा परम्परागत रूपमा पूजापाठ मात्रै गरिने घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।

 

नयाँ वर्षको दिन चम्सालको देउघरबाट घटाल थान नजिकैको असिग्राम मन्दिरमा लग्ने र दोस्रो दिन घटाल थानमा ल्याएपछि मात्रै जाँत सुरु हुने गर्दछ । घटाल थानमा गएर आफूले चिताएको कुरा मागे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । 

 

यस क्षेत्रमा खडेरी परे स्थानीयले घटाल बाबासँग पानी माग्ने गरेका छन् । खडेरी परेमा पानी दिने, निःसन्तानलाई सन्तान दिने गरेको जनविश्वास छ । घटाल बाबाले मनले चिताएको पूरा गरिदिएको भन्दै दैनिक सयौँको संख्यामा घटाल थानमा बलि दिनेहरूको भीड लाग्ने गर्दछ ।

 

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटाल बाबा स्थापना गरिएको बताइन्छ । 

 

पश्चिमी क्षेत्रमा आस्तिकमाझ घटाल बाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । द्वापरयुगमा कुरु क्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए

 

कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पु‍र्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइँ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्यातिप्राप्त भगवान्का रूपमा मान्यता पाउने वरदान दिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

 

मेलामा रोक लगाउने प्रशासन सदरमुकामको भीड देख्दैन 

 

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नयाँ वर्ष तथा सुदूरपश्चिमेलीहरूको महान पर्व विसु अवसरमा जिल्लामा लाग्ने मेलामा रोक लगाएको छ । तर, यहाँका राजनीतिक दल, अन्य सरकारी तथा गैरसरकारी संघ-संस्थाका विभिन्न गोष्ठी तथा तालिममा भने रोक लगाएको छैन । 


कोरोना भाइरसका कारण मेला, पर्वमा भीडभाड भएर कोरोना संक्रमण फैलिने भएकाले रोक्नु सकारात्मक भए पनि गोष्ठी तथा तालिम नरोकिनु दुखद भएको स्थानीय बताउँछन् ।

 

कोरोना महामारीको दोस्रो लहरले भारतलगायत नेपालका अन्य छिमेकी मुलुकमा प्रभाव बढ्दै गएको छ । छिमेकी भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढेसँगै रोजगारीका लागि भारत गएका नेपाली नागरिक पनि स्वदेश फर्किन थालेका छन् । 

 

सुदूरपश्चिमेलीको महान् पर्व बिसु मनाउन आउने सयौँ व्यक्तिको जिल्ला सदरमुकाम डडेल्धुरामा भीड लाग्ने गरेको छ । प्रशासनले अनिवार्य मास्क लगाउन र नलगाएको पाइए कारबाही हुने बताए पनि जिल्ला सदरमुकाममा सुरक्षा सावधानीको बेवास्ता गरेर भीडभाड हुँदा प्रशासन भने मौन छ ।