close

दर्लामडाँडाका घरघरमै खानेपानीका धारा

दर्लामडाँडाका घरघरमै खानेपानीका धारा

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिकाको दर्लामडाँडा र यम्घाका बस्तीमा यतिबेला खुसी छाएको छ । घरआँगनमा खानेपानी आएपछि उनीहरू खुसी भएका हुन् । घन्टौँ डोकोमा खानेपानी बोकेर ल्याउने बाध्यता हटेको छ । ५०० मिटर तल खोलाबाट लिफ्ट गरेर गाउँमा खानेपानी ल्याइएको हो ।

 

खानेपानी योजनाबाट १५० घरपरिवार लाभान्वित भएका छन् । खानेपानी ल्याउन स्थानीय समुदायले २५ दिनसम्म श्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चाले बताए । 

 

लुम्बिनी प्रदेश सरकारमार्फत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १ करोड २ लाख र स्थानीय समुदायको २१ लाख गरी २ करोड २३ लाख रुपैयाँमा योजना सम्पन्न भएको हो । 


घर–घरमा खानेपानी भएपछि करेसाबासीमा तरकारी खेती थालेको स्थानीय यमकुमारी सुनारले सुनाइन् । ‘घरायसी सरसफाइ बढेको छ । आधा रातमा उठेर पधेँरामा खानेपानी लिन जाने समस्या हटेको छ । खानेपानीकै लागि हुने झगडा बन्द भएको छ’, उनले भनिन् ।

 

पानीको समस्याले नुहाउन र कपडा धुन खोलामा धाउनुपर्ने समस्या हटेको स्थानीय बताउँछन् । अहिले घरघरमै पानी आएपछि सरसफाइ बढेको रक्षा सुनारले बताइन् । घरायसी काम गर्ने महिला खुसी भएका छन् । खानेपानी आएपछि गाउँको मुहार फेरिएको छ । वार्षिक १० घरपरिवार बसाइँ सरेर जाने गरेका अब रोकिने विश्वास गाउँपालिकाको छ ।