close

महाकाली थुनेर सडक निर्माण गर्दै भारत

महाकाली थुनेर सडक निर्माण गर्दै भारत

Trulli
ADVERTISEMENT

दार्चुला- भारतले दशकअघिबाट धार्चुला हुँदै लिम्पियाधुरा जोड्ने गरी सडक निर्माण गरिरहेको छ । महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले महाकाली नदी नै थुनिने गरी सडक निर्माण भइरहेको हो ।

 

महाकाली नदी किनारैकिनार सडक निर्माणको क्रममा ढुंगा महाकालीमा फाल्दा नदीकै धार परिवर्तन गराएको छ । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गरिरहेको हो ।

 

धार्चुलाभन्दा माथिल्लो भू-भागमा भारतले यसरी नै नदीमा ढुंगा राखेर सडक निर्माण गर्दैछ । नदीभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुंगा महाकाली मिसिन गई नदीको धार परिवर्तन भइरहेको छ । नदी ढुंगाले भरिएको छ ।

 

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा नदी थुन्ने प्रयास गरेको छ । भारतले १० वर्षदेखि यसरी सडक निर्माण गर्दै छ । नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा नदीमा ढुंगा फालेर नदी थुनेको छ । ‘अहिले हिउँदमा नदीको वहाब कम भएकाले धेरै क्षति हुन पाएको छैन’, बुदीमा बस्दै आएका १ जना मजदुरले भने, ‘बर्खायामसम्म यस्तै रहने हो भने पूरै नदीको असर नेपालतिर पर्छ ।’ 

 

यसअघि पनि भारतले नेपालको महाकाली नदी हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेको थियो । अहिले भारतको सडक निर्माणका क्रममा ढुंगा नेपालतिर पुगेको छ ।

 

गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुंगा नदीमा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको छ । स्थानीय ज्ञानसिंह कुँवरका अनुसार नदीको धार परिवर्तन हुँदा नेपालतिरको भूमि कटान भएको हो । नदीले पूरै बाटो घाटो भत्काएको थियो 

 

सडक निर्माणका क्रममा भारतले नदीमा ढुंगा फालेर नदीको धारै परिवर्तन गर्नु दादागिरी भएको पत्रकार शुभक महतो बताउँछन् । उनले भने, हाम्रोतर्फबाट यसरी सडक निर्माण गर्दा नदीमा असर परेको भए भारतले रोकिहाल्थ्यो ।’ 


नेपालतिर भर्खरै सडक निर्माणका लागि नेपाली सेनाको क्याम्प दुई सुनसेरा र दुम्लिङमा खटिएको छ । ‘भारतले सहज रूपमा नेपाललाई सडक निर्माण गर्न दिँदैन’, उनी भन्छन्, ‘भारतको दादागिरी कायम रहन्छ ।’ 

 

अहिले भारतबाट नेपालतिर ढुंगा आएका छन् । पछि नेपालतिर सडक निर्माण गर्दा भारतको भन्दा माथिल्लो भूभागबाट सडक काटिन्छ । ‘त्यस क्रममा नेपालको ढुंगा सीधै भारतको सडकसम्म पुग्ने अवस्था देखिन्छ’, उनले थपे, ‘यस्तो अवस्थामा भारतले अवरोध पुर्‍याउने निश्चित छ ।’ 

 

कालापानी सडक खण्डको ठाउँ-ठाउँमा अहिले पनि महाकाली नदीभरि ढुंगा फालिएको छ । नदीमा ढुंगाको जाम लागेको छ । जताततै स्थानीयले वारपार गर्ने गरी बाटो निर्माण भएका छन् । पछिल्लो समय भारतीयले त्यही नदीमा राखिएको ढुंगा प्रयोग गरी नेपालतिरबाट काठसमेत लैजान थालेका छन् । 


भारतले नदीमार्फत नेपालतिर उपकरण ल्याएर सडक निर्माण गरिरहेको विषयमा दार्चुलाका मिडियाहरूले पटक-पटक यसअघि समाचार बाहिर ल्याएका थिए । नेपालीहरू पनि अहिले त्यही ढुंगा प्रयोग गरी व्यासको छांगरु-टिंकरसम्म पुग्ने गरेका छन् । व्यासका स्थानीय दीपक खाती दार्चुला-टिंकर सडक निर्माणको क्रममा राता काठाको ढुंगा महाकाली नदीमा जाँदा र विस्फोटक पदार्थ पड्काउँदा भारतले विरोध जनाएको स्मरण गर्छन् ।

 

तर, कालापानी जाने सडक खण्डमा भारतले ठाउँ-ठाउँमा ठूल्ठूला विस्फोटक पदार्थ पड्काउँदै नदी नै अवरोध गराएको छ । गत वर्ष नेपाली सेनाले घाँटीबगर खण्डमा घोरेटो बाटो बनाउने क्रममा भारतले विस्फोट गराउँदा सेनाकै क्याम्पमा असर गरेको थियो । भारतले आफूले चाहेअनुसार बाटो र नदीमा अवरोध पुर्‍याउँदै सडक निर्माण गरिरहँदा पनि नेपाली पक्ष मौन छ । 


सीमा क्षेत्रमा सडक निर्माणको क्रममा नदी थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने संकेत देखिएका छन् । बर्खाको समय नदीको बीचमा अड्किएका ठूला चट्टानले नदीको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् । भारतले सडक निर्माण गरिरहेको ज्यादतीबारे यसै साता राष्ट्रिय मानव अधिकार आयोगले दार्चुलामा गरेको कार्यक्रममा आवाज उठेको छ ।

 

कांग्रेसका पार्टी सचिव एवं व्यासका स्थानीय हरक विष्टले व्यास क्षेत्रमा बाटो निर्माणका क्रममा जथाभावी सडक कटान गर्दा नेपालतिर क्षति पुगेको बताए । ‘यो राक्नु जरुरी छ’, उनले भने, ‘नेपालले पनि सडक निर्माणलाई तीव्रता दिनुपर्छ ।’ 

 

सरकारले नेपालतिरको महाकाली लोकमार्गअन्तर्गत दार्चुला-टिंकर सडक खण्डको ८७ किलोमिटर सडक टिंकर र सुनसेराबाट एकसाथ अघि बढाउनुपर्ने विष्ट बताउँछन् ।