close

८ दिनमा निकाे भाे काेराेना, अस्पताललाई ५१५५५ रूपैयाँ बक्सिस

८ दिनमा निकाे भाे काेराेना, अस्पताललाई ५१५५५ रूपैयाँ बक्सिस

Trulli
ADVERTISEMENT

अछाम- अछामको साँफेबगर नगरपालिका वडा नम्बर २ का सुरत भुललाई कोरोनाले संक्रमित श्रीमतीलाई निको भएर घर लैजान्छु भन्ने रत्तिभर आश थिएन । 


श्रीमती निता भुलको स्वास्थ्यमा समस्या आएपछि बयालपाटा अस्पताल पुर्‍याएका उनले निको भएर घर लैजान्छु भन्ने कल्पनासम्म गरेका थिएनन् । श्रीमतीको गिर्दो स्वास्थ्य अवस्था देखेर निराश भएका उनको अहिले भने सास पलाएको छ । कारण, श्रीमतीले दोस्रो जीवन पाएकी छन् । 


‘देशैभर फैलिएको कोरोना कहरले तत्कालै उपचारका लागि बाहिर लैजान सक्ने अवस्था थिएन’, श्रीमान् भन्छन्, ‘बेड नपाएर कतिपयले ज्यान गुमाएका समाचारले पिरोलो थपेको थियो । तर, बयालपाटा अस्पताल भगवान् बनिदियो, श्रीमतीलाई निको पारेर ।’ 

 

श्रीमतीको स्वास्थ्य अवस्था देखेर दुःखी बनेका सुरत बयालपाटा अस्पतालमा ८ दिनको नियमित उपचारपछि कोरोना संक्रमित श्रीमती निको भएर घर फर्किएसँगै परिवारमा खुसीको सीमै छैन ।

 

श्रीमतीलाई निको भएर घर लगेपछि उनको परिवारको मुहारमा खुसी छाएको छ । सुरत भन्छन्, ‘हामीलाई दोस्रो जीवन मिलेको छ । बयालपाटा अस्पतालले बाँच्ने आश गुमाएकी श्रीमतीलाई बचाइदियो ।’

 

८ दिन पहिले सुरतकी निताको स्वास्थ्यमा एक्कासि समस्या आयो । उनलाई सुरुमा टाउको दुखाइसँगै ज्वरो आएपछि श्रीमान् सुरतले साँफेबगर बजारमै रहेको मेडिकलबाट १ जना स्वास्थ्यकर्मीको सल्लाहमा औषधी चलाए । 


‘सामान्य औषधी गरेपछि केही हदसम्म ज्वरो कम भयो’, सुरत भन्छन्, ‘तर, श्रीमतीलाई सास फेर्न एकदमै गाह्रो भयो । २ पाइला हिँड्नसमेत नसक्ने भइन् । श्रीमतीको अवस्था देखेर मनमा चिसो पस्यो । कोरोनालाई सम्झिएँ । तत्काल श्रीमतीलाई अस्पताल लिएर गएँ ।’ 

 

अस्पताल पुर्‍याउँदा निताको शारीरिक लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दो देखिएको अस्पतालका मेडिकल अधिकृत डा. विप्लव श्रेष्ठले बताए । 

 

‘अक्सिनको मात्रा पनि ८० भन्दा कम थियो’, डा. श्रेष्ठले भने, ‘हामीले उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठायौँ । दोस्रो दिन प्राप्त रिपोर्टअनुसार कोरोना संक्रमण देखायो । संक्रमण देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार सुरु गर्‍यौँ ।’ 

 

डा. श्रेष्ठको प्रत्यक्ष निगरानीमा निताको उपचार सुरु भयो । अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले भने, ‘हामीले तत्कालै उनलाई अक्सिजन दिएर उपचार सुरु गर्‍यौँ । उनको क्रमिक स्वास्थ्यमा सुधार हुँदै गए पनि शरीरमा अक्सिजनको मात्रा कम बढी भइरहेको थियो । हामीले उनलाई हतोत्साहित नहुन र आत्मबल बढाउन आग्रह गरेपछि शरीरमा अक्सिजनको मात्रा बढ्दै गयो । विस्तारै स्वास्थ्य अवस्था सामान्य हुँदै निको भएर घर फर्किइन् ।’ 

 

श्रीमतीलाई निको बनाएपछि अस्पताललाई ५१५५५ को बक्सिस

 

समाजसेवीसमेत रहेका सुरतले आफ्नै श्रीमतीलाई निको बनाउने बयालपाटा अस्पताललाई ५१५५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बयालपाटा अस्पतालले बिरामीलाई निको बनाएर दोस्रो जीवन दिएकामा सहयोग गरेको उनले बताए । 

 

‘कोरोना कहरमा अस्पतालले निःशुल्क नागरिकको सेवा दिनुका साथै संक्रमितको उपचार गरिरहेकाले सहयोग गरेको हुँ’, सुरतले भने । स्वास्थ्यकर्मीको उपचार गर्ने साहस नै आत्मबल र हौसला भएको सुरत सुनाउँछन् । 

 

‘अस्पतालले दिइरहेको सेवा र स्वास्थ्यकर्मीको मिहिनेतको जति प्रशंसा गरे पनि कमै हुन्छ । यस्तो बेला ज्यानै जोखिममा राखेर बिरामीको सेवामा समर्पित हुने स्वास्थ्यकर्मीलाई साधुवाद छ’, सुरतले भने ।

 

अग्र मोर्चामा खटिँदै स्वास्थ्यकर्मी 


बयालपाटा अस्पतालका मेडिकल अधिकृत डा. श्रेष्ठको टोलीले नीतासँगै वार्डमा रहेका सबै बिरामीको हरेक दिन खटेर उपचार गरिरहेका छन् । बिरामीको अवस्था कस्तो छ भनेर उनले दिनरात बिरामीका कुरुवाले खबर गर्नेबित्तिकै वार्डमै पुगेर रेखदेख गर्दै आएका छन् । वार्डमा भर्ना भएका कोरोना संक्रमित नितासँगै अन्य ४ जना बिरामी पनि निको भएर घर फर्किएका छन् ।

 

‘स्रोत-साधनले भ्याएसम्म बिरामीको उपचार गरिरहेका छौँ’, डा. श्रेष्ठले भने, ‘अक्सिजन आवश्यक पर्ने बिरामीलाई नियमित दिइरहेका छौँ । जसको अक्सिजन लेभल राम्रो छ, उनीहरूको सामान्य उपचार भइरहेको छ ।’ 

 

बयलपाटा अस्पतालले डा. श्रेष्ठको नेतृत्वमा कोभिड रेस्पोन्स टिम बनाएको छ । डा. श्रेष्ठको टिमले नै हाल कोरोना संक्रमितको उपचार गरिरहेको छ । कोरोना कहरमा आफ्नो सुरक्षाको समेत प्रवाह नगरी डा. श्रेष्ठको टिम बिरामीको उपचारमा दिनरात खटिरहेको छ ।