close

विवाहले यसरी फैलायो समुदायमा कोरोना 

अर्काे हट स्पट बन्दै डडेल्धुरा

विवाहले यसरी फैलायो समुदायमा कोरोना 

अर्काे हट स्पट बन्दै डडेल्धुरा

Trulli
ADVERTISEMENT

डडेल्धुरा- विवाहमा भएको भीडभाडले डडेल्धुराको अमरगढी वडा नम्बर ३ चम्साल गाउँमा कोरोना संक्रमण फैलिएको छ । विवाहमा सहभागी ४ जनामा कोरोना पुष्टि भएपछि यस्तो अनुमान गरिएको हो । 

 

गाउँमा विवाह भएकाले त्यहीबाटै कोरोना सरेको आशंका गर्न सकिने वडाध्यक्ष गोविन्द बोहराले बताए । ४ जनामा कोरोना देखिएपछि सम्भावित लक्षण देखिएका २ जनाको स्वाब परीक्षण गरिएको उनले जानकारी दिए । 

 

‘खोइ कताबाट फैलियो कोरोना ? संक्रमितलाई सोधेपछि थाहा होला । ट्राभल हिस्ट्री छैन । त्यसैले हाम्रो अनुमान कतै विवाह हो कि भन्ने लागेको छ,’ उनले भने । 

 

बोहराका अनुसार कोरोना संक्रमितको अवस्था सामान्य छ । समुदायमा थप कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै वडाबाट सूचना प्रकाशन गरेर पसल बन्द गर्न र अनावश्यक घरबाहिर हिँडडुल नगर्न आग्रह गरिएको अध्यक्ष बोहराले बताए । 

 

डडेल्धुरामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिए पनि एन्टिजेन किट अभावमा परीक्षण प्रभावित भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराले आफूसँग भएको एन्टिजेन किट जिल्लाका ७ वटै स्थानीय तहलाई दिए पनि पर्याप्त नहुँदा कोरोना परीक्षण प्रभावित भएको हो ।

 

जिल्लाका ७ वटै स्थानीय तहमा दिनहुँ करिब १०० जनाको कोरोना परीक्षण हुने गरे पनि एन्टिजेन किट अभावमा पछिल्लो दिनमा केही स्थानीय तहमा कोरोना परीक्षण बन्द भएको छ ।

 

डडेल्धुरामा करिब २० हजार किट आवश्यक रहे पनि हाल ३ सय मात्रै किट रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । प्रत्येक स्थानीय तहले किट खरिद गर्नुपर्ने भए पनि उनीहरूले नकिन्दा जिल्लामा किट अभावले परीक्षणमा समस्या भइरहेको उनको भनाइ छ । 

 

हट स्पट बन्दै डडेल्धुरा

 

डडेल्धुरा कोरोनाको हट स्पट बन्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै जिल्ला कोरोनाको हट स्पट बन्दै गएको हो । जिल्लामा दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएको छ । दोस्रो चरणमा शनिबारसम्म ७ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।  यसमध्ये दोस्रो चरणमा ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

 

हाल जिल्लामा ४५७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड-१९ फोकल पर्सन हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामा मात्रै सबैभन्दा बढी २६२ जना सक्रिय संक्रमित छन् ।

 

यस्तै, परशुराम नगरपालिकामा ४० जना, अजयमेरु गाउँपालिकामा ७६, नवदुर्गामा १९, आलितालमा २५, गन्यापधुरामा १६ र भागेश्वर गाउँपालिकामा १९ जना सक्रिय संक्रमित रहेको कोभिड-१९ फोकल पर्सन भट्टले जानकारी दिए ।

 

उनका अनुसार पहिलो र दोस्रो चरण गरी जिल्लामा १३ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । अमरगढीका ४, परशुरामका ३, आलिताल र नवदुर्गाका २/२ तथा अजयमेरु र भागेश्वरका १÷१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।