close

पहिरोले थुनिएर ताल बनेको रोडसी खोला खुलाएपछि जोखिम हट्यो

पहिरोले थुनिएर ताल बनेको रोडसी खोला खुलाएपछि जोखिम हट्यो

Trulli
ADVERTISEMENT

दोलखा– चीनको स्वशासित क्षेत्र तिब्बतको रोडसी खोलाको त्रासबाट वारिका नेपाली मुक्त भएका छन् । पहिरोले थुनिएर ताल बनेको रोडसी खोला चिनियाँले खुलाएपछि नेपालमा जोखिम टरेको हो । 

 

भारी वर्षासँगै आएको पहिरोले थुनिएको तामाकोसी नदीको मुख्य सहायक खोलाको रूपमा रहेको तिब्बतको रोडसी खोलामा ताल बनेको थियो । काठमाडौंस्थित चिनियाँ दूतावासबाट चिनियाँ टोलीले ताल खोलेको र क्षति नहुने गरी पानी छाड्न सुरु गरिएको जानकारी आएकाले नेपालमा जोखिम नहुने दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

 

चिनियाँ अधिकारी र सुरक्षाकर्मीले पहिरो पन्छाएर तालको पानीलाई खोलेको जानकारी आउनासाथ तामाकोसी नदी आसपास बसोबास गर्ने नागरिकमा त्रास हटेको छ । 

 

२ दिनदेखि पानी जमेर बनेको ताल खोलेर नदीमा पानी प्रवाह गर्न थालिएपछि तामाकोसी नदीमा बाढी आउने खतरा तत्कालका लागि टरेको नदी किनारमा बसोबास गर्ने लोकराज पाठकले बताए ।

 

ताल भरिएर बगेको पानी तामाकोसी नदीमा मिसिँदा आइतबार बेलुकी पानीको बहाव बढेको थियो । तर, आइतबार बिहान ३ बजेदेखि तामाकोसीको जलाशयमा पानीको वहाब लगातार घट्दै गएको थियो । नेपाल–चीनको सीमा जोडिएको ६० र ६१ नम्बरको सीमास्तम्भ नजिकै पहिरोले खोला थुनिएर ताल बनाएको थियो ।