close

राहतको पर्खाइमा हेलम्बु (भिडियो खबर)

राहतको पर्खाइमा हेलम्बु (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु र रसुवाको शिरबाट हिम पहिरोले ल्याएको बाढीले मेलम्ची र हेलम्बुका जनधनको क्षति गरेको छ । असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा सन्त्रास उस्तै छ । बाढी रोकिने र फेरि आउने क्रम उस्तै भएकाले पनि कतिबेला के हुन्छ भन्ने अनुमान लगाउन नसक्दा स्थानीयमा त्रास छन् ।

 

बाढी पछि सडक, सञ्चार,  विद्युत आपुर्ति ठप्प हुँदा हेलम्बुवासी सकसपूर्ण दैनिकी बिताउन बाध्य छन् । बाढी आएपछि भोलिपल्टै देखि मेलम्ची बजारमा राहतको लर्काे चल्यो । सडक, बिजुली, सञ्चार विच्छेद भएको हेलम्बुमा कसैको दया पलायन, कसैको आँखा गएन । सडक वरिपरिका घर भत्किए । पसल डुबे । अहिले स्थानीयलाई खान नै समस्या हुन थालेको छ । 


असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । झण्डै तीन सय घर टहरा बगाएको अनुमान छ । बाढी आएको चौथो दिन पुग्दा पनि हेलम्बु अझै तँग्रिन सकेको छैन । बाढीले सडक सञ्जाल टुटाएपछि हेलम्बु अहिले एक्लिएको छ । ह्योल्मो संस्कृति, कला र धर्मदेखि पर्यटनका लागि प्रख्यात थियो ह्योल्मो भूमि, हेलम्बु ।

 

आर्कषक सिमिसिदाङ जस्ता दर्जनौ हिमश्रृंखलाको काखमा रहेको हेलम्बुमा आउने जो कोहिले यसको सौन्दर्यको बखान गर्ने गर्दथे । तर, मंगलबार मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व नै मेटायो, तटीयक्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो । बाढीको सतह बढेपछि मंगलबार गाउँ नै बग्ने त्रासमा भागभाग भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै राकिदियो । उर्लिएर आएको बाढीले सडक खण्डहर बनाइदियो ।

 

ठाउँठाउँमा कटान भएपछि अहिले हेलम्बु सडक सञ्जालबाट बाहिर छ । बाढीले यति मात्रै गरेन करोडौं लगानीका आठ वटा ट्राउट फर्म मेलम्ची खोलाले सिलित्तै निल्यो । बिजुलीका पोल भत्कायो अनि एकै गाउँका १४ जनालाई नदीमा विलय गरायो । त्यसैले अहिले हेलम्बु शोकमा छ । बाढी आएपछि भोलिपल्टै देखि मेलम्ची बजारमा राहतको लर्काे चल्यो । सडक, बिजुली, सञ्चार विच्छेद भएको हेलम्बुमा कसैको दया पलायन, कसैको आँखा गएन । सडक वरिपरिका घर भत्किए । पसल डुबे । अहिले स्थानीयलाई खान नै समस्या हुन थालेको छ । 


मेलम्चीको मुहानस्थल हुँदै एक्कासी उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो । झण्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे , किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो । बाँकी घरको अवस्था पनि हेर्दै टिठ लाग्दो छ ।


उराठलाग्दो खण्डहरझै लाग्ने तटीयक्षेत्रका नदीले बगाएर बाँकी बसेका गाउँका घरको आधा संरचनाबाट स्थानीयसँग मिलेर बचेखुचेका सामग्री अझै निकाल्दै छन् । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने करिब ८ किलोमिटर सडकको सिमकुना, तालामाराङ , चनौटे, किउल, तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा छ । बिजुलीका तार बाटोमै लत्रिएका छन् । सञ्चार विमुख भएकोले त्यहाँको अवस्था के छ भन्नेबारे अन्य जनता अनविज्ञ छन् ।


मेलम्ची बजारसँग जोड्ने मुख्य सडक बीचैमा भासिएर टुटेपछि सहयोग र व्यवस्थापनमा यहाँका जनप्रतिनिधि, स्थानीय आफै खटिएका छन् । सडक भत्किएकाले आवतजावत गर्नेहरु कष्ट सहेर पैदल ओहोरदोहोर गर्छन् । अनुमानित सय घर बगाउँदा ६ सयभन्दा बढी घरवारविहिन भएका छन् । कोही बारीको पाटामा प्लाष्टिक र त्रिपाल टाँगेर बसेका छन् । कतै सेनाले बासको प्रवन्ध गर्दैछ ।

 

स्थानीय सरकारबाहेक कुनै सरकारी संयन्त्र नपुगेको हेलम्बुको आकाशमा भने दैनिक १२ देखि १५ पटक हेलिकोप्टरले राउण्ड मार्ने गर्दछ । तर, हेलम्बुका पीडितले न त राहत पाएका छन् न त सडक नै सहज यात्रा गर्न सकेका छन् ।हेलिकप्टर मात्रै उड्ने गरेकोमा गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको असन्तुष्टी छ । 


वैकल्पिक सडकको लागि साँखु, मेलचौर हुदै कुटुम्साङ जोड्ने सडकको लागि जनप्रतिनिधि प्रयासरत छन् । काठमाडौंसँगको सम्पर्क जोड्नका लागि गाउँपालिका अध्यक्ष डोजर लगाएर बाटो खन्न थालेका छन् । तर, पनि अभावै अभावले थिचिएर हेलम्बु अझै अस्तव्यस्त छ । कहिले उठ्छ टुंगो छैन । कहिले बौरिन्छ यकिन छैन । तर, स्थानीयले शोकलाई शक्तिमा बदलिरहेकाले आशा गरौँ हेलम्बुले छिटै श्वास फेरोस्, त्यो पनि आनन्दको ।