close

गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी  : सहकारीको रकम हिनामिनाको आरोप  

गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी  : सहकारीको रकम हिनामिनाको आरोप  

Trulli
ADVERTISEMENT

दाङ– दाङको देउखुरी क्षेत्रमा रहेको एक सहकारीको रकम हिनामिना आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई पक्राउ पुर्जी जारी भएको छ । 
कर्मचारीले गरेको रकम हिनामिनामा नियमन नगरेको आरोपमा अध्यक्ष सुवेदीसहित २० जना प्रतिवादीको नाममा मंगलबार अदालतबाट पक्राउ पुर्जी जारी भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए ।

 

‘गाउँपालिका अध्यक्षसहित २० जना प्रतिवादीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ गिरीले भने, २५ मध्ये फरार रहेका २० जनालाई पक्राउ गरेर अदालतमा पेश गर्न आदेश जारी भएको छ ।’ 

 

३५ दिने म्याद पक्राउ पुर्जीको म्याद जारी भएको हुँदा प्रतिवादी २० जनालाई प्रहरीले अब जतिखेर पनि पक्राउ गर्न सक्ने गिरीले जानकारी दिए । देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम रुपैयाँ हिनामिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाई केही दिनअघि अदालतमा मुद्दा दायर गरेका थिए ।

 

यसअघि सहकारी संस्थाका ४ कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । अदालतले १ जना कर्मचारीकी श्रीमतीलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ । सहकारीका तत्कालीन सह–लेखापाल विक्रम राना रकम हिनामिनाको स्वीकारेर पुर्पक्षका लागि थुनामा छन् । 

 

रकम हिनामिना प्रकरणमा यसअघि नै गाउँपालिका अध्यक्ष सुवेदीले हाल सहकारीमा आफ्नो कुनै पनि पदीय जिम्मेवारी नभएको भन्दै निर्दोष रहेको दाबी गरेका थिए । उनले आफूले कुनै दिन फरक–फरक सहकारीको संस्थापकलगायत महत्त्वपूर्ण पदमा रहेर काम गरे पनि हाल ४ वटा सहकारी मिलेर निर्माण भएको देउखुरी सहकारीमा र निर्माण २०७४ देखि कुनै पनि संस्थामा आबद्ध नरहेको बताए ।

 

सुवेदी तत्कालीन अवस्थामा लेखा परीक्षण समितिका संयोजक थिए । सहकारीको हिनामिना पनि त्यही समयदेखि सुरु भएको अनुमान गरेर उनीविरुद्ध आरोप लागेको छ । पक्राउ पुर्जी जारी भएपछि सुवेदीले घटना अनुसन्धानमा पूर्ण सघाउने बताए । अदालतमा उपस्थित भएर सत्यतथ्य अनुसन्धानमा सघाउने उनको भनाइ छ ।

 

दोषीलाई कानुनी कारबाहीका लागि स्थानीय गाउँपालिका प्रमुखको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । संयोजक हुँदा कर्मचारीलाई नियमन नगरेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको देखिएपछि सुवेदी घटनामा मुछिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा अधिकृत मोहनजंग बुढा थापाले बताए । हिनामिनाको घटना भने सहकारी मर्ज भइसकेपछि मात्रै सार्वजनिक भएको हो ।