close

दुई पटकसम्म श्रीमतीलाई क्यान्सर भएपछि बाँच्ने कि बचाउने पिरलो

दुई पटकसम्म श्रीमतीलाई क्यान्सर भएपछि बाँच्ने कि बचाउने पिरलो

Trulli
ADVERTISEMENT

गुल्मी- इस्मा गाउँपालिका वडा नम्बर २ रातडाँडाका थानबहादुर नेपाली आर्थिक संकटमा परेका छन् । श्रीमती जुमा नेपालीलाई लगालग २ वर्ष क्यान्सर भयो ।  विपन्न दलित परिवारलाई त्योभन्दा ठूलो पीडा के होला, नेपालमा स्वास्थ्योपचार सर्वसुलभ छैन ।


सामान्य रोग लागे पनि बच्न मुस्किल पर्छ । सरकारले प्रदान गरेको स्वास्थ्य सेवा पनि विपन्नको पहुँचमा छैन । त्यसैले गम्भीर प्रकारका रोग लागेकै कारण कयाैँ व्यक्तिले सम्पत्तिसहित ज्यान गुमाउनुपर्ने अवस्था छ ।


इस्माका नेपालीको परिवार अहिले त्यस्तै चपेटामा परेको छ । उनकी ४९ वर्षीया श्रीमती जुमादेवी नेपाली २०७६ मा स्तन क्यान्सरको कारण पीडित थिइन् ।


नेपालीले १० लाख रुपैयाँ ऋणधन गरेर श्रीमतीलाई उपचारका लागि भारत पुर्‍याए । उपचारपछि केही समय जुमादेवीको स्वास्थ्य अवस्था राम्रो भएकाले परिवार खुसी थियो ।


परिवारले कोभिड तथा आर्थिक अवस्थाको कारण समयमै फलोअप गर्न सकेन । गत वैशाखदेखि उनलाई पुनः ढाडमा समस्या देखिन थाल्यो । 


राम्रोसँग तंग्रिन नपाउँदै थपिएको अर्को शारीरिक समस्याले जुमादेवी झनै पीडित भइन् । उनी विस्तारै हिँडडुल गर्न नसक्ने भइन् । परिवारले गाउँदेखि नेपालका विभिन्न ठाउँमा उपचार गर्न लगे पनि रोग पत्ता लागेन ।


जसोतसो गरेर परिवारले भारतको फरिदावादस्थित एसियन हस्पिटल पुर्‍यायो । छोरी भावना नेपालीका अनुसार जुमादेवीलाई फेरि बोन क्यान्सर देखिएको छ ।


अस्पतालले शल्यक्रिया गर्न भारु १३ लाख लाग्ने बताएको छ । लगातारको २ वटा क्यान्सरले पीडित जुमादेवी अहिले फरिदावाद अस्पतालको शय्यामा छटपटाइरहेकी छन् ।


पैसाको जोहो गरे मात्रै शल्यक्रिया गर्ने अस्पताल प्रशासनले बताएको भावनाले जानकारी दिइन् । गाउँमा कृषि कर्म गरेर परिवार पालेका थानबहादुरलाई भारु १३ लाख जुटाउन ठूलो संकट छ ।


‘स्तन क्यान्सर हुँदाकोे १० लाख रुपैयाँ बाँकी छ । फेरि भारु १३ लाख कहाँ खोजौँ,’ उनले भने, ‘परिवार पालाैँ कि श्रीमती फालौँ ।’  परिवारले स्वास्थ्योपचारको आर्थिक संकटमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।