close

१४ वर्षदेखि सदरमुकामकै गाउँ अन्धकारमा 

१४ वर्षदेखि सदरमुकामकै गाउँ अन्धकारमा 

Trulli
ADVERTISEMENT

अछाम- अछाम सदरमुकाम मंगलसेनकै एउटा गाउँमा बिजुली बत्तीको सुविधा छैन भन्दा आश्चर्य लाग्न सक्छ ।  २०५८ सम्म जिल्ला सदरमुकाम मंगलसेनमै भरपर्दो बिजुली बत्ती थिएन । पछिल्लो समय विद्युत् सेवाको पहुँचमा छ । तर, झिलीमिली बिजुली चम्किने मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीको डाँडीगडे गाउँ १४ वर्षदेखि अन्धकारमा छ ।

 

ग्रामीण ऊर्जा कार्यक्रमअन्तर्गत चाइराखोला लघु जलविद्युत् आयोजनामार्फत निर्माण भएको १२ किलोवाट क्षमताको विद्युत्बाट डाँडीगडे गाउँका २ सय घरधुरीले ८ वर्षसम्म बिजुली बत्तीको सेवा लिए ।  तर, २०६४ मा विद्युत्को पावर हाउसमा रहेको मेसिनमा सामान्य खराबी आउँदा अवरुद्ध बनेको विद्युत् सेवा अहिलेसम्म सुरु हुन नसकेको हो । 


‘२०६४ मा अवरुद्ध बनेको विद्युुत् सेवालाई सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले चासो दिएनन् । विद्युत्का लागि विकल्प पनि छैन’, स्थानीय भवानीप्रसाद ढुंगानाले भने । ग्रामीण ऊर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाख रुपैयाँको जनश्रमदानबाट बनेको उक्त विद्युत्को पावरहाउसमा रहेको मुख्य मेसिनमा २०६४ मा सामान्य खराबी आएको थियो ।


मेसिन मर्मतका लागि अपरेटर नपाउँदा तत्कालीन अवस्थामा मर्मत गर्न नसक्दा अहिले आयोजना ध्वस्त भइसकेको स्थानीय हिक्मत बोगटीले बताए ।  अब उक्त योजना मर्मतभन्दा पनि आयोजनालाई नयाँ तरिकाले निर्माण गर्नुपर्ने अवस्था रहेको अर्का स्थानीय दुर्गा जैसी सुनाउँछन् ।


साँफेबगरसम्म मात्रै सडक पुगेका बेला डाँडीगडेका नागरिकले सिमेन्टदेखि मेसिन र विद्युत्का लागि आवश्यक पर्ने अन्य सबै पार्टपुर्जा श्रमदानमा बोकेर ल्याएको स्थानीय रामबहादुर मिझारले स्मरण गरे । उनले भने, ‘आयोजना सामान्य मर्मतसमेत हुन नसक्दा गाउँ नै अन्धकार भयो ।’ अहिले गाउँलेले श्रमदानमै गाडेका सालका पोल भाँचिएका र विद्युत् तार पनि चुँडिएको अवस्थामा छन् । विद्युत् अभावका कारण स्थानीय बालबालिकालाई पढ्न, मिल सञ्चालनलगायतमा अप्ठेरो पर्दै आएको छ ।


बेलाबेलामा उक्त विद्युत् आयोजना मर्मत स्टिमेट तयार पारिए पनि कुनै निकायबाट पहल हुन नसकेको शिशुकल्याण आधारभूत विद्यालयका शिक्षक मीनबहादुर बोगटीले जानकारी दिए । ऊर्जाले त्यतिबेला विद्युुत् बाले पनि त्यसपछि चासो नदिँदा आयोजना लथालिंग भएको मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।


उनका अनुसार उक्त आयोजनाका पार्टपुर्जा खिया लागेर काम नलाग्ने भइसकेका छन् । राष्ट्रिय प्रसारण लाइनका लागि पहल भइरहेको उनले जानकारी दिए ।  ‘उक्त गाउँमा बिजुली बत्तीका लागि टेन्डर भइसकेको छ । आउँदो भदौबाट काम सुरु हुनेछ’, वडाध्यक्ष थापाले भने, आवश्यक पर्ने ७८ वटा पोलको ठेक्का भइसकेको छ ।’ 

 

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले उक्त गाउँका लागि पटक-पटक ठेक्का भएर पनि काम हुन नसकेको स्वीकोर । ‘१ वर्षदेखि निरन्तर पहल गरिरहेका छाैँ । तर, ठेक्काको काम हुन नसक्दा ढिलाइ भएको हो ।’